काठमाडौं । तपाईले ३० लाख मूल्यमा उत्कृष्ट ह्याचव्याक कार किन्ने सोच बनाउनु भएको छ भने, तपाईको लागि हुन्डाई, टाटा, सुजुकी र फक्सवागनको गाडी उपयुक्त हुने छ । यो सेग्मेन्टमा उपलब्ध यी ४ ब्राण्डका हुन्डाई ग्राण्ड आई १० मग्ना, सुजुकी स्वीफ्ट भिएक्सआई, टाटा टियागो एक्सजेड र फक्सवागन एमपीआई ट्रेन्डलाइन प्लस कारमा आफ्नो लागि उपयुक्त छनोट गर्न सक्नु हुने छ ।
यी ४ वटै मोडल पेट्रोल इन्जिनमा उपलब्ध रहेका छन् । ग्राण्ड आई १०, स्वीफ्ट र टियागोमा १.२ लिटर इन्जिन दिइएको छ भने, पोलोमा १.० लिटर इन्जिन दिइएको छ ।

पावरमा सबैभन्दा अगाडि टाटा टियागो रहेको छ । यसमा रहेको इन्जिनले ६००० आरपीएममा ८४.४८ बीएच पावर प्रदान गर्छ भने ग्राण्ड आई १० र स्वीफ्टले समाना ८१.८ बीएच पावर प्रदान गर्छ । पोलोमा इन्जिन नै केही कम क्षमताको रहेकाले ७५ बीएच पवार प्रदान गर्छ ।
यी सबैै कारमा लगभग समान बुट स्पेश रहेको छ । पोलोमा ४५ लिटर, ग्राण्ड आई १० मा ४३ लिटर, स्वीफ्टमा ३७ लिटर र टियागोमा ३५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
४ वटै मोडल ५ स्पीड म्यानुयल गियरबक्स जडान भएका कार हुने भने सबै मोडल ५ सिट क्षमताका हुन् । ४ वटै कारमा पावर स्टेरिङ, लो फियूल वार्निङ लाइट, पावर आउटलेट, अगाडि कप होल्डर, गियर सिफ्ट इन्डिकेटर, एयर कन्डिसनर, हिटर जस्ता समान आरामदायी फिचर रहेका छन् । आरमदायी फिचरको मामलामा टाटा टियागो फिचर लोडेड रहेको छ ।

सुरक्षा फिचरको कुरा गर्दा यी सबै कारमा एबीएस उपलब्ध रहेको छ । यी सबै कारमा दुई एयरव्याग, सेन्टर लकिङ, चाइल्ड सेफ्टी लक जस्ता समान फिचर उपलब्ध रहेको छ । यसका अलावा यी कारमा एड्जस्टेवल सिट, इन्जिन इमोविलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ उपलब्ध रहेको छ । पोलोमा बाहेक अन्य तीन वटै कारमा इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचर दिइएको छ ।
एआरएआईको अनुसार टाटा टियागो सबैभन्दा धेरै माइलेज दिने कार हो । टियागोले प्रतिलिटर २३ किमि, स्वीफ्टले २१ किमि, ग्राण्ड आई १० ले २० किमि र पोलोले १८ किमि प्रतिलिटर माइलेज दिने प्रमाणित गरेको छ । टप स्पीडको मामलामा भने ग्रान्ड आई १० सबैभन्दा अगाडि देखिन्छ ।

नेपाली बजारमा उपलब्ध यी ४ वटै गाडी आ–आफ्नो ब्राण्डमा सफल मोडल हुन् । नेपालमा ग्राण्ड आई १० मग्ना भेरियन्टको मूल्य ३० लाख ५६ हजार रुपैयाँ रहेको छ । यसलाई लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको छ ।
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले बिक्री गर्दै आएको स्वीफ्ट भीएक्सआईको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा टियागो जेडएस भेरियन्टको मूल्य ३० लाख ९९ हजार तोकिएको छ ।

फक्सवागनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले एमपीआई ट्रेन्डलाइन प्लस भेरियन्ट २९ लाख ४५ हजार रुपैयाँ मूल्य तोकर बिक्री गर्दै आएको छ ।


