बजारमा आउँदै ४ नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । सन् २०२४ को अन्त्यसम्ममा भारतमा बन्ने ४ एड्भेन्चर मोटरसाइकल बजारमा आउने भएका छन् । होन्डा, केटीएम, हिरो र टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी थालेका हुन् ।

टीभीएस, होन्डा र हिरोले अल न्यू मोडल ल्याउने छन् भने केटीएमले अपडेटेड मोडल ल्याउने तयारी थालेको हो ।

केही दिनअघि मात्र परिक्षणमा देखिएको केटीएम ३९० एड्भेन्चरको २०२५ भर्सन २०२४ को अन्त्यसम्ममा भारतीय बजारमा सार्वजनिक हुनेछ ।

नयाँ ३९० एड्भेन्चरमा ३९० ड्यूकको फ्रेम प्रयोग गरिएको छ । यसमा एलसी-४ सी ३९९ सीसी सिंगल सिलिन्डर इन्जिन रहने छ । उक्त इन्जिनले ४५.३ ब्रेकहर्स पावर र ३९ एनएम टर्क जेनेरेट गर्छ ।

 

कम्पनीले ३९० एड्भेन्चर नयाँ भर्सनलाई अफरोड प्रेरित डिजाइनमा तयार पारेको छ । यसको फ्रन्टमा १९ र रियरमा १७ इन्च वायर स्पोक ह्वील प्रयोग गरिएको छ ।

त्यस्तै होन्डाले हालै मात्र ३५० सीसी एड्भेन्चर मोटरसाइकलको पेटेन्ट दर्ता गराएको छ । कम्पनीले होन्डा सीबी ३५० मा आधारित एड्भेन्चर मोडल २०२४ को अन्तिमसम्ममा ल्याउने अनुमान गरिएको छ । यो मोटरसाइकलमा सीबी ३५० मा रहेको ३४८.३६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गर्नेछ । यसले २१ हर्षपावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ ।

टीभीएसले गत वर्ष भारतीय बजारमा अपाचे आरटीएक्स नाम पेटेन्ट दर्ता गराएको थियो । अहिले त्यसको टीभीसी सुट गरिरहेको समाचार बाहिर आएको छ ।

टीभीएसले उक्त मोटरसाइकल बीएमडब्लू जी ३१० जीएसको इन्जिनमा ल्याउन लागेको हो । यसमा ३१२ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ यसले ३४ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल २०२४ को अन्त्यसम्ममा आउने बताइएको छ ।

भारतमा हिरोले करिज्मालाई २१० सीसीमा पुनः बजारमा ल्याएसँगै एक्सपल्स–२१० आउने चर्चा चुलिएको छ । विभिन्न समयमा हिरोले एक्सपल्सको नयाँ भर्सन परिक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् ।

हिरो ल्याउने एक्सपल्स २१० मा लिक्वीड कुल्ड फोरभल्भ इन्जिन उपलब्ध हुनेछ । उक्त इन्जिनले २५.५ पीएस पावर तथा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल आगामी तीन महिनामा कम्पनीले हिरो एक्सपल्स २१० सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top