‘अद्भूत’ फिचरले भरिपूर्ण दिपल ‘एस-७’ एसयूभी, मूल्य झनै आकर्षक

काठमाडौं । पहिलो पटक नेपाल आएकै भोलिपल्ट मेरोअटोले दिपल एस-७ को बारेमा समाचार प्रकाशित गरेको थियो । हामीले एस-७ मा रहेका फिचरको विषयमा तपाईंंलाई जानकारी दिएका थियौं ।

त्यसको झण्डै दुई सातापछि दिपल एस-७ लाई केही किलोमिटर चलाएर हेरेपछि त्यसका फिचरको बारेमा जानकारी दिन लागेका हौं । एक शब्दमा भन्दा ‘दिपल एस-७’ अद्भूत फिचरहरू भएको लग्जरी क्रसओभर हो ।

छोटो ड्राइभमा यसको पर्फमेन्सको बारेमाभन्दा पनि फिचरको विषयमा केही जानकारी दिने प्रयास गरेका छौं । कारमा ४ ड्राइभिङ मोड दिइएको छ । जसमा ईको, कम्फर्ट, स्पोर्टस् र आइप्याडल मोड छन् । रियर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध दिपल एस७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

चलाउँदा ड्राइभिङ मोड अनुसार नै स्टेरिङ पनि एड्जस्ट हुने भएको कारण अलग अनुभूति गर्न सकिन्छ । पावर निकै राम्रो छ । स्पीडमा पनि कार स्टेबल भएको कारण चालकले ड्राइभिङसँगै रमाइलो अनुभव गर्न सक्नेछन् ।

‘एआर-एचयूडी हेड-अप डिस्प्ले’ले तपाईंंलाई अलगै अनुभव गराउँछ । तपाईंले गाडी चलाउँदा सम्पूर्ण सूचनाहरू हावामा नै देख्न सक्नुहुनेछ । यसमा ट्रेडिशनल कारको जस्तो इन्फर्मेशन डिस्प्ले छैन । मनोरञ्जन र गाडीको फिचर कन्ट्रोल गर्न भने १५.६ इन्चको निकै ठूलो डिस्प्ले दिएको छ । जुन चालक तिर आफैँ फर्कने छ । यसमा क्वालकमले बनाएको स्न्याप ड्रागन ८१५५ चीप जडान भएको छ ।

अझ रमाइलो पक्ष त गाडी चढ्न ढोका खोल्ने बित्तिकै अनुभव गर्न पाइन्छ । चालकको सिटिङ पोजिसन अनुसार मिलाएर राखेको गाडी ढोका खोल्दा सिट पर हट्ने र आफैँ अटोमेटिक तरिकाले बसेपछि एड्जस्ट हुन्छ । पछि बाहिर निस्कँदा पनि गाडीले सिट सारेर ओर्लन सजिलो बनाउने छ । ५ सिट क्षमताको क्रसओभरमा सबै सिटहरू भेन्टिलेटेड छन् । हेड रेष्टसहितको पछाडि दिइएको आर्मरेष्ट पनि युनिक डिजाइनमा पाउन सकिन्छ ।

सोनीले बनाएको १६ वटा स्पीकर सहितको म्यूजिक सिस्टम, पानारोमिक क्यानोपी, मल्टी कलर एम्बीयन्ट लाइट, सफ्ट टच मेटिरियलबाट बनेको ड्यासबोर्ड, स्पोर्टी स्टेरिङ ह्वीलले चालकलाई खुसी बनाउने छ । साथै, सेन्टर कन्सोलमा रहेको एथेष्ट स्पेश र आरामदायी सिटले सबैको चाहना पूरा गर्न सक्छ ।

यसको बाहिरी बनोट निकै सार्प लाग्छ । सानोभन्दा सानो कुरा ध्यान दिएर तयार परिएको जस्तो लाग्ने एस-७ मा २० इन्चको अलोय ह्वील, सबै एलइडी लाइट, कटिङ एज टेक्नोलोजीको प्रयोग जस्ता कारण गाडी लोभलाग्दो हुने नै भयो ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको दिपल एस-७ को मूल्य अहिलेसम्म निर्धारण भएको छैन । तर, कम्पनी स्रोतले ७० लाखदेखि ७५ लाख रुपैयाँ भित्रै राखेर यसलाई बजारमा ल्याउन सक्ने जनाएको छ ।

मूल्यको हिसाबले धेरै मानिसको रोजाइमा पर्न सक्ने दिपल एस-७ आफ्नो घरमा सानो ग्यारेज हुनेहरूले चाहिँ चाहेर पनि खरिद गर्न पाउने छैनन् । किन भने यो क्रसओभर मोडलको लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६२५ एमएम छ ।

लम्बाइ चाहिँ अहिले चल्तीमा मोडलभन्दा २५० देखि ४५० एमएमसम्म लामो भएको कारण समस्या आउन सक्छ । अन्यथा कम्पनीले ल्याउने सम्भावित मूल्यमा दिपल एस-७ उत्कृष्ट क्रसओभर हुनेछ ।


Back_to_top