काठमाडौं । इलेक्ट्रीक कार किन्ने मानिसको संख्या वृद्धि भएसँगै आयातकर्ताले पनि धेरैभन्दा धेरै छनोट ग्राहकलाई दिन थालेका छन् । सन् २०२१ सम्म एउटा कम्पनीसँग बढीमा दुई मोडल उपलब्ध रहेको विद्युतीय कार अब हरेक ब्राण्डसँग कम्तीमा दुई मोडल हुने अवस्था आएको छ ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आगामी भदौ २६ गतेबाट ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसैले अधिकांश कम्पनीहरु अटो शोमा नयाँ मोडल ल्याउने तयारी गरिरहेका छन् । विशेषत चर्चा र ग्राहकको चासो नै विद्युतीय कारमा भएको कारण ईभीमा धेरै छनोट पाउन सकिने छ ।
नाडा अटो शो अगाडि नै नेपाली बजारमा बिभिन्न ब्राण्डका चार ह्याचब्याक कारको बिक्री सुरु हुँदैछ । ती सबै कार मूल्यको हिसावले २५ लाखदेखि ५० लाख भित्रै ग्राहकले खरिद गर्न पाउने हाम्रो अनुमान छ ।
अहिले ईभी बिक्री गर्दै आएको टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ मोडलको रुपमा टियागो ईभी नेपाल ल्याउने छ । टाटाको सफल ह्याचव्याक टियागो ५० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ । यसलाई कम्पनीले असारमा नै बिक्री सुरु गर्ने योजना बनाएको छ । यसलाई ग्राहकले २५ लाखदेखि ३० लाखसम्ममा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी अहिले तीन मोडलका ईभी बिक्री गर्दै आएको बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पनि प्रिमियम ह्याचव्याक मोडल डल्फीन बजारमा उतार्ने छ । अहिले नै एक यूनिट डल्फीन नेपाल आइसकेको छ । त्यसको परीक्षण पनि कम्पनीले डल्फीनको बिक्री सुरु हुनेछ । डल्फीनमा ७० किलोवाट क्षमताको मोटर रहने छ । बीवाइडी डल्फीनको मूल्य ४२ लदेखि ४५ लाख हाराहारी पर्ने अनुमान रहेको छ ।

त्यसैगरी ओरा-०३ मोडल पनि साउनबाट बिक्री सुरु हुनेछ । ग्रेटवाल मोटर्सको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले आगामी साताबाट यसको बुकिङ खुल्ला गर्दैछ । निकै क्लासिक डिजाइनमा तयार भएको ओरा(०३ उत्कृष्ट ह्याचव्याक मोडल हो । यसको मूल्य ४८ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सिट्रोन ईसीथ्री अर्को असारबाट नेपालमा बिक्री सुरु हुने ह्याचव्याक मोडल हो । फ्रेन्च निर्माताको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले यसलाई बिक्री सुरु गर्न लागेको हो । कम्पनीले यसको मूल्य ३२ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार तोकेर बुकिङ सुरु भइसकेको छ । यसको डेलिभरी पनि असारबाट सुरु हुने अपेक्षा गरिएको छ ।

यी ४ ह्याचव्याक बजारमा आएसँगै विद्युतीय साधनको बिक्री थप बढ्ने अपेक्षा गर्न सकिन्छ ।

