कम मूल्यको कारण सफल भएका ५ कार

काठमाडौं । नेपालमा गाडीको मूल्य र फिचर निकै महत्वपूर्ण मानिन्छ । सरकारले निजी प्रयोजना प्रयोग हुने कारमा करिब २२५ प्रतिशत कर लगाएकै कारण कार धेरै मानिसको पहुँचमा पुग्न सकिरहेको छैन ।

अहिले वार्षिक औषत ३ लाख ५० हजार मोटरसाइकल विक्री हुने नेपालमा कारको विक्री मुस्कीलले १२ देखि १५ हजार यूनिट हुने गरेको छ । यसबाट पनि नेपालमा कारको बजार कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ ।

सस्तोमा नेपालमा कम मूल्य भएका र न्यूनतम फिचर भएका कारहरु बिक्री हुने गरेका छन् । विशेषत २० देखि २५ लाख मूल्यमा किन्न पाइने कारको बजार हिस्सा करिब करिब ३० प्रतिशत रहेको आयात तथ्यांकले देखाउँछ ।

कम मूल्यसँगै उत्कृष्ट माइलेज, राम्रो रिसेल भ्यालू रहेका कारको बजार हिस्सा धेरै रहँदै आएको छ । यस्तोमा हुन्डाई सेन्ट्रो, रेनो क्वीड, मारुती सुजुकी सेलेरियो, डाट्सन रेडी गो र टाटा टियागो कम मूल्यमा पाइने सफल मोडल भएका छन् ।

उसोत यी गाडी नेपाली बजारमा विभिन्न भेरियन्टमा उपलब्ध रहेका छन् । यद्यपी यी सबै मोडलको सुरुवाती भेरियन्टको मूल्य २५ लाखभन्दा कम रहेको छ ।

डाट्सन रेडी गो फेसलिफ्ट र रेनो क्वीड फेसलिफ्ट यो सेग्मेन्टमा केहि महिना अघिमात्रै नेपाल आएका मोडल हुन् । रेडी गो एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य २३ लाख ९९ हजार निर्धारण गरेर कम्पनी विक्री गर्दै आएको छ । उच्च ग्राउन्ड क्लियरेन्सको कारण रेडी गो सफल मोडल बन्न सफल भएको छ ।

रेनो फेसलिफ्ट तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले क्वीडको आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्लाइम्बरको २५ लाख ९९ हजार र आरएक्सटी (ओ) एएमटी भेरियन्टको २६ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

कम मूल्य र माइक्रो एसयूभी थिममा तयार भएको रेनो क्वीड फेसलिफ्ट नेपालमा सफल मोडलको रुपमा अगाडि बढिरहेको छ ।

टाटा टियागो निकै सफल ह्याचव्याक कार हो । उत्कृष्ट डिजाइन, ग्लोवल एनक्यापमा थ्रि स्टार रेटिङ जस्ता कारण टियागो बलियो र सुरक्षीत कार मानिन्छ । नेपाली बजारमा विभिन्न ४ भेरियन्टमा विक्री हुँदै आएको टियागोको इन्ट्री भेरियन्ट एक्सईको मुल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । टियागो एक्सएमको मूल्य २८ लाख ५५ हजार, एक्सजेडको ३० लाख ९९ हजार र टप भेरियन्ट एक्सजेड प्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले अहिले सेन्ट्रोको तीन भेरियन्ट मात्रै विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्दै आएको सेन्ट्रो इरा भेरियन्टको मूल्य २३ लाख ९६ हजार, स्पोट्जको २७ लाख ५६ हजार र आस्टाको ३० लाख ५६ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।

सेन्ट्रो पुरानो लिगेसी र फोर सिलिण्डर इन्जिनमा उपलब्ध रहेको सेग्मेन्ट फर्स्ट कार हो । त्यसैले यसलाई चाहनेको संख्या अहिले पनि निकै धेरै रहेको छ । यो नेपालमा सर्वाधिक सफल मध्यको इन्ट्री लेवल कार हो ।

हुन्डाई सेन्ट्रोको उत्पादन २०१३ मा बन्द भएपछि मारुती सुजुकीले त्यही स्थानमा ल्याएको सेलेरियो सेग्मेन्टमा नै सर्वाधिक सफल फ्यामिली कार हो । यसलाई कम्पनीले नेपाली बजारमा विभिन्न तीन भेरियन्टमा विक्री गर्दै आएको छ । भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई (ओ) भेरियन्टमा उपलब्ध यसको मूल्य क्रमशः २५ लाख ४९ हजार, २७ लाख ९९ हजार र २९ लाख २९ हजार रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ ।


Back_to_top