काठमाडौं । कोभिड १९ को संक्रमणका बीच कम खर्चमा नयाँ मोटरसाइकल किन्न चाहने ग्राहकले मासिक ५ हजार रुपैयाँ तिर्नेगरि मोटरसाइकल खरिद गर्न सक्ने छन् ।
कम मूल्यका किफायती मोटरसाइकल उत्पादनमा अहिले हिरो, बजाज, टीभीएस, होन्डा र सुजुकीले आफ्ना उत्पादन बजारमा विक्री गरिरहेका छन् । कम क्षमताका इन्जिन, लाइट वेट र उच्च माइलेज यी मोटरसाइकलका मुख्य विशेषता हुन् ।
कम्पनीहरुले यसलाई ग्राहकको आवस्यकता अनुसार विना डाउन पेमेन्टदेखि नै विक्री गर्दै आएका छन् । विना डाउन पेमेन्ट मोटरसाइकल किन्दा धेरै रकम व्याज वापत भुक्तानी गर्नु पर्ने भएकाले हामी यो अप्सन छनोट गर्न सिफारिस गर्दैनौ ।
अहिले बजारमा ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले निकै राम्रो व्याजदरको अफर पाउने छन् । यस्तोमा मासिक आम्दानी कम हुने तर, सहरी क्षेत्रमा धेरै यात्रा गर्न पर्ने मानिसको लागि उपयुक्त ५ मोटरसाइकललाई हामीले यहाँ प्रस्तुत रहेका छौं ।
हिरो स्प्लेन्डर आई स्मार्ट
हिरो स्प्लेन्डर आई स्मार्ट निकै चर्चित मोडल हो । यसको बजार मूल्य अहिले १ लाख ८३ हजार ५०० रुपैयाँ तोकेर आधिकारीक वितरक एनजीएम हिरोले विक्री गर्दै आएको छ । कम्पनीले नयाँ वर्ष स्कीममा ५ हजार छुट पनि दिदै आएको थियो ।

हिरो स्प्लेन्डर आई स्मार्टमा १०९.१५ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९.१ पीएस पावर र ९ एनएम टर्क प्रदान गर्छ । यस मोटरसाइकलको दुबै चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ । मोटरसाइकलमा ८.५ लिटरको इन्धन ट्याङकी दिइएको छ ।
बजाज प्लाटिना एसइ
बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको प्लाटिना माइलेजकै कारण भारतमा धेरै विक्री हुने मोडलमा पर्छ । बजाजले नेपालमा विक्री गर्ने सबैभन्दा कम मूल्यको बजाज मोटरसाइकल प्लाटिना हो । यसको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ । बजाजको यो मोटरसाइकलमा कम्पनीले १० हजारसम्म नगद छुट दिदै आएको छ ।

बजाज प्लाटिनामा १०२ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम पावर ८.०२ पीएस र ८.६ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसमा ११.५ लिटरको इन्धन ट्याङ्की दिइएको छ । दुबै चक्कामा ड्रम ब्रेक भएको मोटरसाइकलमा फुल ट्याङकी पेट्रोल हाल्दा ९ सय किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
सिडी १०० ड्रिम डिलक्स
होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा विक्री गर्दै आएको सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी १०० ड्रिम डिलक्स हो । यसको मूल्य १ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ । यसमा कम्पनीले ४ हजारसम्म नगद छुट दिदै आएको छ ।

सिडी १०० मा १०९ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८.२५ बीएच पावर र ८.६३ एनएम टर्क प्रदान गर्छ । यस मोटरसाइकलमा ८ लिटर क्षमताको इन्धन ट्याङकी उपलब्ध रहेको छ । दुबै चक्कामा ड्रम ब्रेक रहेको यो मोटरसाइकल पनि उत्कृष्ट माइलेज दिनेमा पर्छ ।
टीभीएस रेडअन
टीभीएसको सबैभन्दा कम मूल्यमा किन्न पाइने मध्येको एक मोडल हो रेडअन । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले १ लाख ८६ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री गर्दै आएको छ । यो मोटरसाइकलमा कम्पनीले ८ हजारसम्म नगद छुट प्रदान गर्दै आएको छ ।

रेडअनमा १०९.७ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ८.४ पीएस पावर र ८.७ एनएम टर्क प्रदान गर्छ । यसको पनि दुबै चक्कामा ड्रम ब्रेक उपलब्ध रहेको छ । यो मोटरसाइकल पनि माइलेजको लागि राम्रो मानिन्छ ।
सुजुकी हायाते
सुजुकीको आधिकारीक वितरक भिजी सुजुकले सबैभन्दा कम मूल्यमा विक्री गर्ने हायातेको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले यो मोटरसाइकल किन्ने ग्राहकलाई १० हजारसम्म नगद छुट दिने भएकोले यसलाई ग्राहकले १ लाख ८० हजारसम्ममा खरिद गर्न सक्छन् ।

यो मोटरसाइकलमा ११३ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८.७ पीएस पावर र ९.३ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलको पनि दुबै चक्कामा ड्रम ब्रेक रहेको छ ।


