बजेटबाट हेल्मेट र साना मोटरसाइकलको कर घटाउन नाडाको माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/२०७९ को बजेट भोलि शनिवार ल्याउने जनाएको छ । यद्यपी संसद विगठन भएकाले अध्यादेशबाट बजेट आउन नसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले बजेट ल्याउने बताइसकेको छ । भोलि सार्वजनिक हुने बजेटमा नाडा अटोमोवाइल एसोशियसन अफ नेपालले केही सुधार गर्न सुझाव दिएको छ ।

नाडाले मोटरसाइकल नेपालको धेरै क्षेत्रको लागि प्रमुख यातायातको साधन रहेको तथ्यांक राख्दै मोटरसाइकलको पार्टस् तथा हेलमेटमा लाग्दै आएको भन्सार महशुल कम गर्न सुझाव दिएको छ ।

अहिले दुई पाङ्ग्रे सवारी साधनमा प्रयोग हुने पार्टस १५ प्रतिशत र मानव सुरक्षाको लागि प्रयोग हुने हेल्मेटमा समेत १५ प्रतिशत भन्सार लगाउँदै आएको छ । यसलाई घटाएर पार्टसमा ५ प्रतिशत र हेल्मेटमा कुनै भन्सार महशुल नलाग्ने व्यवस्था गर्न नाडाले माग गरेको छ ।

नेपालको भौगोलिक हिसाबले समेत ज्यादै उपयुक्त रहेका मोटरसाइकलमा सर्वसाधारणको पहुँच विस्तार गर्न कम सीसीका मोटरसाइकलमा भन्सार छुट दिन नाडाले सुझाएको छ ।

उच्च भन्सार महशुलका कारण नेपालमा कुल जनसंख्याको ९ प्रतिशतले मात्र मोटरसाइकल उपभोग गर्दै आएको नाडाले उल्लेख गरेको छ । हाल आयता हुने कुल मोटरसाइकलको ७० प्रतिशत काठमाडौं बाहिर खपत हुनेभन्दै ग्रामिण यातायातमा मोटरसाइकलको भूमिका बुझ्न नाडाले आग्रह गरेको छ ।

साथै, आम उपभोक्ता लागि सहज बनाउन सवारी साधनको करको कर तथा कागपत्र बुझाउनु पर्ने सम्पुर्ण व्यावस्था डिजिटल गर्न समेत नाडाले सरकारलाई सुझाव दिएको छ ।


Back_to_top