५ हजार डाउन पेमेन्टमै इलेक्ट्रीक स्कुटर

काठमाडौं । जम्मा ५ हजार रुपैयाँ डाउन पेमेन्टमै केरेन ब्राण्डका इलेक्ट्रीक स्कुटर खरिद गर्न पाइने भएको छ ।

नेपालका लागि केरेन इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक इभोक नेपालले ल्याएको विशेष फाइनान्स स्कीममा यस्तो सुविधा पाइने भएको हो ।

राष्ट्र बैंकको नियम अनुसार कुनै पनि सवारी साधन खरिद गर्दा कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने व्यवस्था छ । तर, इभोक नेपालले हिमालयन बैंकसँग सहकार्य गर्दै न्यूनतम ५ हजार रुपैयाँ डाउन पेमेन्टमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार यस स्कीम अन्तर्गत केरेन ब्लेज र केरेन एसआरटी ५ प्रो स्कुटर न्यूनतम ५ हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिन्छ । केरेन ब्लेजको मूल्य २ लाख १९ हजार र एसआरटी ५ प्रोको २ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यी स्कुटर किन्न ग्राहकले सुरुमा कम्तीमा ५ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी रकम हिमालयन बैंकको सोह्रखुट्टे शाखाले ऋण उपलब्ध गराउने भएको छ । उक्त रकम ग्राहकले ३ वर्षसम्म मासिक किस्ताबन्दीमा तिर्नुपर्नेछ । यो कर्जाको ब्याजदर ६.९९ प्रतिशत रहेको छ ।

बैंकले ग्राहकलाई क्रेडिट कार्ड मार्फत ऋण उपलब्ध गराउने भएको हो । स्कुटर किन्ने ग्राहकलाई बैंकले लोन रकम बराबरको क्रेडिट कार्ड उपलब्ध गराउने छ । त्यसपछि बैंकले महिनैपिच्छे सोही कार्डबाट ईएमआइ रकम काट्छ । ग्राहकले मासिक किस्ताबन्दी अनुसारको रकम आफ्नो क्रेडिट कार्डमा जम्मा गर्नुपर्छ । लोन र ईएमआइ सिस्टमको सम्पूर्ण प्रक्रिया बैंकको नियम अनुसार हुनेछ ।

ऋण लिनका लागि ग्राहकले आफ्नो आम्दानी स्रोतका साथै नागरिकता, नेसनल आईडी, ड्राइभिङ लाइसेन्स, फोटो र कम्पनीको हकमा कम्पनीको सम्पूर्ण कागजात, कर चुक्ता र अडिट रिपोर्ट पेश गर्नुपर्नेछ । साथै, बैंकले कोल्याटर बेसमा पनि कर्जा उपलब्ध गराउने छ । धितोमा केही शर्तहरु लागू हुने छन् ।

इभोक नेपालले बिक्री गर्दै आइरहेको केरेन ब्लेज र एसआरटी ५ प्रो स्कुटरमा ७२ भोल्ट र ३५ एम्पियरको ग्राफेन ब्याट्री रहेको छ । दुवै स्कुटरले फुलचार्जमा १२० किलोमिटरसम्मको रेन्ज दिन्छ । स्कुटरमा के-टेक डिलुहब ड्राइभ मोटर र सीबीएस ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ ।

यी दुई स्कुटरमा मोटर पावर भने फरक छ । ब्लेजको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा र प्रोको ७० प्लस किलोमिटर प्रतिघण्टा रहेको छ । दुवै मोडलमा ट्रयाक्सन कन्ट्रोल, रिभर्स मोड स्लोप होल्ड दिइएको छ । प्रोमा भने क्रुज कन्ट्रोल पनि छ ।


Back_to_top