नयाँ रोडस्टर ‘गुरिल्ला ४५०’ का बलिया ५ पक्ष

काठमाडौं । क्लासिक मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले आफ्नो नयाँ रोडस्टर गुरिल्ला ४५० मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कम्पनीले गुरिल्ला ४५० विभिन्न ८ कलर अप्सनमा उपलब्ध गराएको छ । हिमालयन ४५० कै प्लेटफर्ममा आधारित गुरिल्ला ४५० लाई विशेषगरी सहरकेन्द्रित र स्पोर्टी राइडिङ मन पराउने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो ।

आधुनिक डिजाइन, नयाँ ४५२ सीसीकाे शक्तिशाली इन्जिन र प्रिमियम फिचरसहित आएको यो मोटरसाइकल बारे धेरैमा चासो देखिन्छ । यहाँ हामीले यसका बलिया र कमजोर पक्ष बारे चर्चा गरेका छौं ।

रोडस्टर डिजाइन र स्पोर्टी लुक

गुरिल्ला ४५० हिमालयनभन्दा कम उचाइ, तौल र कम्प्याक्ट रोडस्टार डिजाइन भएकाले युवा राइडरलाई आकर्षित गर्ने सम्भावना देखिन्छ । गोलाकार एलईडी हेडलाइट, आल्मुनियम लोअर ह्याण्डलबार, क्लिन एण्ड स्लिम टेल सेक्सन, सिंगल पिस सिट र मस्कुलर ट्याङ्कले आधुनिक लुक दिएको छ । गुरिल्ला हिमालयनभन्दा विल्कुलै फरक डिजाइनमा छ । यो सिटी तथा हाइवे राइड गर्नेका लागि राम्रो विकल्प हो ।


शक्तिशाली इन्जिन

गुरिल्ला ४५० मा ४५२ सीसीको शक्तिशाली सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम ४० पीएस पावर र ४० एनएमकै टर्क जेनेरेट गर्छ । यसमा हिमालयनकै समान बीएस ६, एफआई, ६ स्पीड गियरबक्ससहितको शेर्पा, डीओएचसी इन्जिन प्रयोग गरिएको छ । यो मोटरसाइकलले हाइवे र सहर दुवैमा बलियो पर्फर्मेन्स दिने छ ।

आरामदायी राइडिङ पोस्चर

सिट हाइट तुलनात्मक रूपमा कम भएकाले मध्यम उचाइ भएका राइडरका लागि सहज हुने छ । यसले दैनिक प्रयोगमा पनि थकानभन्दा बढि आरामदायी राइडिङ महसुस गराउँछ ।

डिजिटल तथा हार्डवेयर फिचरहरू

मोटरसाइकलमा एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी सिस्टम, राइड बाइ वायर थ्रोटल, असिस्ट एण्ड स्लिप क्लच, डबल च्यानल एबीएस, राइड मोड जस्ता आधुनिक सुविधा फिचरहरू छन् । साथै, स्टिल ट्युबलर फ्रेम, अलोय ह्वील, टेलिस्कोपिक फोर्क, लिंकेज टाइप मोनोसक र हाइड्रोलिक डबल डिस्कब्रेक पाउन सकिन्छ ।

आकर्षक मूल्य

९ लाख रुपैयाँमा पाइने गुरिल्ला ४५० को मूल्य इन्जिन क्षमता र फिचरका आधारमा तुलनात्मक रूपमा सस्तै देखिन्छ । जुन ग्राहका लागि सकारात्मक पक्ष हो । यद्यपि, ९ लाख रुपैयाँ तिरेर मोटरसाइकल किन्न सक्ने कमै भएकाले सबैको पहुँचमा नहुन सक्छ ।

कमजोर पक्ष

धेरै बलिया पक्षका बाबजूद गुरिल्ला ४५० का केही कमजोरी देखिएका छन् । यो हिमालयन जस्तो एड्भेन्चर केन्द्रित नभएकाले खराब सडक वा अफरोड यात्रामा असहज हुन सक्छ। अनरोडका लागिमात्रै बढि उपयुक्त हुने भएकाले धेरैको रोजाइमा नपर्न सक्छ ।

त्यस्तै, गुरिल्लामा ११ लिटरको पेट्रोल ट्यांक छ । पेट्रोल बिनै १८५ किलोग्राम तौल भएको यो मोटरसाइकल पेट्रोल भरेपछि अझै बढी भारी हुन्छ । साथै, ४५२ सीसी इन्जिन भएकाले इन्धन खपत साना मोटरसाइकलभन्दा बढी हुन सक्छ। दैनिक कम्युट गर्ने प्रयोगकर्तालाई खर्च बढी महसुस हुन्छ ।

 


Back_to_top