थापाथलीको गाडी शोरुममा राखिएका बोर्डमा महानगरको नजर

काठमाडौं । काठमाडौं महानगरपालीकाले महानगर भित्र विभिन्न पेसा ब्यवसाय संचालन गरेर बसेका कम्पनी तथा फर्महरुले राखेका ३० वर्ग फिटभन्दा ठूला बोर्डहरु हटाउन निर्देशन दिदै आएको छ ।

हिजो पुस २५ गते महानगरको टोलीले थापाथलीमा रहेका गाडी शोरुममा गई मापदण्ड विपरितका होडिङ बोर्ड हटाउन भनेको हो । त्यसले ब्यवसायीहरुलाई समस्या सृजना हुने देखिएको छ ।

महानगरले पटक पटक ताकेता गर्दा पनि बोर्ड नहटाएको भन्दै आफैँ उपस्थित भएर दुई दिन भित्र हटाउन ब्यवसायीलाई निर्देशन दिएको हो । यदि दुई दिन भित्र बोर्ड नहटाए महानगरको डोजर ल्याएर फालिदिने भन्दै कर्मचारीहरु गएको ब्यवसायीहरुले बताए ।

गाडीका शोरुमहरुमा राखिने होडिङ बोर्डहरु अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै तत्काल त्यस्ता बोर्ड नहटाउन नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले महानगरसँग आग्रह गरेको छ ।

‘अमेरिकादेखि यूरोपसम्म गाडीको शोरुममा लगाइने बोर्डको साइज, डिजाइन र एसीपी एउटै हुन्छ । त्यसलाई तत्काल हटाउन भनेर कसरी सम्भव हुन्छ ? यो हटाउने वा चलाउने विषय नै होइन’, नाडा अध्यक्ष ध्रुव थापाले भने ।

महानगरले भने अटेर गर्ने ब्यवसायीको बोर्ड आफैँ हटाउने र त्यसबापत लाग्ने खर्च सम्बन्धीत संस्थाबाटै भराउने जनाएको छ ।


Back_to_top