काठमाडौं । विभिन्न किसिमका माग राख्दै आन्दोलन गर्दै आएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले आज नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् ।
भेटमा अर्थमन्त्री पौडेलले सरकार व्यवसायीको माग पुरा गर्न प्रयत्नशिल रहेको बताउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे ।
उक्त भेटमा नाडाका अध्यक्ष ध्रुव थापाले कोभिडको महामारीको कारण अटो व्यवसायमा धेरै अप्ठ्यारा परिस्थिति आएकोमा अहिले देखिएको तरलता संकट र लामो समय गाडी आयात प्रतिवन्धले गर्दा अझ कठिन अवस्था आएको बताएका थिए ।
सोही क्रममा अध्यक्ष थापाले बढ्दो व्याज दर र प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न र अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन आग्रह गरेको नाडा द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षहरु राजनबाबु श्रेष्ठ र सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योतिको उपस्थिति थियो ।

