काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो नयाँ मोडल पल्सर एफ २५० ततकाल नेपाल नल्याउने भएको छ । कम्पनी स्रोतका अनुसार पल्सर एफ २५० अहिल्यै नेपाल आउने छैन ।
गत वर्ष एकै दिन भारतमा विक्री सुरु भएको एन २५० नेपाल आएपनि एफ २५० भने नेपाल ल्याउने कुनै योजना नभएको आधिकारीक विक्रेताले जनाएको छ ।
‘नेपालमा पल्सर २२० एफको माग राम्रो रहेको र एफ २५० ल्याउँदा २०० एफको तुलनामा महंगो पनि पर्नेछ । त्यसैले एफ २५० तत्काल नेपाल ल्याउने सम्भावना छैन’, हंशराज हुलास चन्द एण्ड कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
भारतमा बजाजले एफ २५० सार्वजनिक गरेसँगै २२० एफको विक्री बन्द गरेको छ । तर, २२० एफको माग भइरहेका विश्वका धेरै बजारको लागि उत्पादन भने निरन्तर रहेको बजाजले जनाएको छ ।
भारतीय ब्राण्ड बजाजले विश्वका ७० भन्दा धेरै देशमा मोटरसाइकल विक्री गर्दै आएको छ । उच्च माग रहेका मोडलहरु भारतमा बन्द भएपनि अन्य देशको लागि भने उत्पादन भइरहेको छ । त्यसैले नेपालमा पल्सर २२० नै विक्री गर्ने योजना कम्पनीले बनाएको हो । अहिले बजारमा पल्सर २२० एफको मूल्य ३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
तत्काल नेपाल नआउने एफ २५० मा बजाजले २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २४.१ बीएच पावर तथा २१.५ एनएमटर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । साथमा डबल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।

