काठमाडौं । सन् २००० पछि नेपाली अटोमोवाइल बजारमा कडा प्रतिस्पर्धा गरिरहेका दुई ब्राण्डको नाम लिनु पर्दा सबैभन्दा धेरैको मुखबाट सुनिने नाम मारुती सुजुकी र हुन्डाई हो ।
संख्यात्मक रुपले हेर्ने हो भने पछिल्ला दुई दशकमा हुन्डाईको विक्रीमा तिब्र विस्तार भएको छ भने, मारुती सुजुकीले सबैभन्दा धेरै गाडी विक्री गर्ने ब्राण्डको ताज आफुसँगै राख्न संघर्ष गरेको देखिन्छ । कम मूल्यका धेरै मोडल बजारमा ल्याएर पहिलो गाडी किन्ने ग्राहकलाई थुप्रै विकल्प दिएकाे मारुती सुजुकीलाई हुन्डाईले कडा टक्कर दिन थालेको सन् २००० पछिनै हो ।
सन् २००५ सम्म आई पुग्दा हुन्डाईले ग्राहकलाई केही विकल्प दिन सुरु गरेको थियो । सन् २०१० पुग्दा आफ्नो डिजाइन र फिनिसिङको सहायताले हुन्डाईले बजारमा वलियो उपस्थिति बनाएको थियो । त्यसपछि यी दुई ब्राण्ड बीच नेपाली बजारमा कडा टक्कर चलिरहेको छ ।
सन् २०१३ पछि नयाँ सेग्मेन्टको रुपमा विकास भएको सब फोर मिटर एसयूभीमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यो सेग्मेन्टमा ब्रेजाले निकै बलियो उपस्थिति बनाएको छ । सन् २०१६ देखि नेपालमा बिक्री हुँदै आएको ब्रेजा करिब ६ हजार यूनिट हाराहारी विक्री भइसकेको छ ।

सन् २०१९ मा पहिलो पटक सार्वजनिक भएको र सन् २०२० बाट नेपालमा विक्री सुरु भएको हुन्डाई भेन्यूपनि २ हजार यूनिटभन्दा धेरै नेपाली सडकमा गुड्न थालिसकेको छ । अहिले सिजी मोटोकर्पले मारुती सुजुकीले ब्रेजालाई नयाँ जेनेरेशन मोडलको रुपमा नेपाल ल्याउने तयारी गरिरहेको छ । त्यसैगरी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि भेन्यूको फेसलिफ्ट मोडललाई आगामी जनवरीको अन्त्यसम्ममा नेपाल विक्री सुरु गर्ने तयारी गरेको बुझिन्छ ।
नेपाली बजारमा माघको अन्त्यसम्ममा प्रतिस्पर्धामा उत्रने यी दुई मोडल बीच रहेको तुलनात्मक भिन्नतालाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
डिजाइन
यी दुबै मोडलको अगाडि र पछाडि भागमा केही परिवर्तन भएर आएको छ । हुन्डाईले अगाडिको ग्रिल र पछाडिको टेल सेक्सनमा ठूलो परिवर्तन गरेपनि बडी डिजाइनलाई छोएको छैन ।
मारुती सुजुकीले पनि ब्रेजाको अगाडिको फेसियामा केही नोट गर्न सकिने परिवर्तन गरेको छ । जसले यसको ट्रेडिशनल लुक्सलाई केही ग्ल्यामर थप्ने काम गरेको छ । अन्यथा यसको पछाडिको भाग र बडी डिजाइनमा परिवर्तन भएको छैन ।
फिचरको तुलना
दुबै कम्पनीले आफ्नो कारमा पहिला नभएका धेरै फिचरहरु थप गरेका छन् । भेन्यूमा पहिलेकै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ भने, ब्रेजामा पहिलेभन्दा ठूलो ९ इन्च इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । भेन्यूको सिस्टममा वायरलेस स्मार्टफोन कनेक्टीभीटी छ । भेन्यूमा फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ब्रेजामा सेमी डिजिटल क्लष्टर रहेको छ ।
हुन्डाईले भेन्यूमा इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट दिएको छ । दुबै कारको टप स्पेकमा सनरुफ, एम्वियन्ट लाइट, वायरलेस फोन चार्जर तथा रियर एसी भेन्ट पाउन सकिन्छ ।

क्यावीन फिचरमा भेन्यू भारी परेको भएपनि सेफ्टी सम्बन्धी फिचरमा भने ब्रेजाले बाजी मारेको छ । ब्रेजा यो सेग्मेन्टमै पहिलो हेडअप डिस्प्ले र ३६० डिग्री क्यामराको सुविधा उपलब्ध भएको मोडल हो । यो फिचरका अलावा ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी, हिलहोल्ड असिस्ट, इसीएस, टीएमपीएस जस्ता फिचर भने दुबै एसयूभीमा छन् ।
इन्जिन र गियरबक्सको तुलना
ब्रेजा र भेन्यू दुबै कार पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ । ब्रेजा पावरफुल १.५ लिटरको के१५सी पेट्रोल इन्जिन अप्सनमा मात्र रहेको छ । तर, भेन्यूमा भने दुईवटा पेट्रोल र एक डिजेल इन्जिन पाउन सकिन्छ । भेन्यू १.२ लिटर नेचुरल्ली एस्पिरेटेड एमपीआई र १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर सीआरडीआई डिजेल इन्जिनमा छनोट गर्न सकिन्छ ।

ब्रेजाको इन्जिनले १०३ बीएचपी पावर उत्सर्जन गर्छ भने भेन्यूको १.२ लिटर पेट्रोलले ८२ बीएचपी, १.० लिटरको टर्बो इन्जिनले ११८ बीएचपी र १.५ लिटर डिजेल इन्जिनले ९९ बीएचपी पावर उत्सर्जन गर्ने क्षमता राख्छ ।
ब्रेजामा ५ स्पीड म्यानुअल र ६ स्पीडको अटोमेटीक गियरबक्सको छ भने भेन्यूको १.२ लिटर इन्जिनसँग ५ स्पीड र १.५ लिटर डिजेल इन्जिनसँग ६ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ । भेन्यूको १.० लिटर इन्जिनमा भने ६ स्पीडको आइएमटी र ७ स्पीड डिसीटी गियर उपलब्ध रहेको छ । ट्रास्मीसन र इन्जिन अप्सनको कुरामा भेन्यूमा धेरै च्वइस छ ।
मूल्य
मूल्यको विषयमा दुबै कम्पनीले कुनै आधिकारीक जानकारी दिएका छैनन् । विगतदेखि नै मारुती सुजुकीले थोरै भेरियन्टमा ब्रेजा उपलब्ध गराएको कारण यस पटकपनि त्यस्तै गर्ने अनुमान गर्न सकिन्छ । उसले ४८ लाखदेखि ५९ लाख भित्र रहनेगरी नयाँ जेनेरेन ब्रेजा बजारमा ल्याउन सक्नेछ ।

हुन्डाईले भेन्यूको अल्ली धेरै भेरियन्ट नेपालमा विगतदेखि नै विक्री गर्दै आएको देखिन्छ । त्यस हिसावले करिब ३९ लाखदेखि ५७ लाख हाराहारी मूल्यका भेन्यू नेपालमा किन्न पाइने छ ।
माइलेज
अर्को विर्सन नहुने तथ्य माइलेज हो । मारुती सुुजुकी ब्रेजाको इन्जिन ठूलो भएता पनि यसले १९.८ देखि २०.१५ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । हुन्डाईको भेन्यूमा रहेको नेचुरल्ली एस्पीरेटेड इन्जिनले १७.५ तथा १.० टर्बो पेट्रोलले १७.८ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।


