नेपालमा बिक्री हुन्छन् ८ यूरोपियन ब्राण्डका मोटरसाइकल

काठमाडौं । नेपालमा पछिल्ला दिनमा यूरोपियन ब्राण्डका मोटरसाइकल एकपछि अर्को आउन थालेका छन् । विशेषत भारतमा उत्पादन भएर आउने यी मोटरसाइकलले आफ्नो बजार हिस्सा बढाउँदै लगेका छन् । स्कुटरदेखि प्रिमियम मोटरसाइकल सेग्मेन्टमा यूरोपियन ब्राण्डका उत्पादन नेपालमा बिक्री वितरण हुँदै आएका छन् ।

विशेषत यूरोपियन ब्राण्डको छवि बनाएको रोयल इन्फिल्ड र जावा भारतीय व्यवसायीक समूहले खरिद गरेर भारतमा उत्पादन भएका ब्राण्ड हुन् । रोयल इन्फिल्ड बेलायती ब्राण्ड हो भने जावा चेक रिपब्लीकको ब्राण्ड हो । यी दुबै ब्राण्डले भारतमा उत्पादन भएका मोटरसाइकल नेपालमा बिक्री वितरण गर्दै आएका छन् ।

इटालियन ब्राण्ड वेनेलीले चीन र इटालिमा उत्पादन भएका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । भने अर्को इटालियन कम्पनी पियाजियोको उत्पादन अप्रिलिया र भेष्पा पनि भारतमा उत्पादनपछि नेपालमा बिक्री सुरु भएको ब्राण्ड हो ।

जर्मन ब्राण्ड बीएमडब्ल्यूले भारतमा टीभीएससँगको सहकार्य गर्दै उत्पादन सुरु गरेपछि नेपालमा पनि बिक्री वितरण सुरु गरेको हो । स्वीडेनको ब्राण्ड हस्कभर्ना पनि नेपालमा बिक्री हुने अर्को ब्राण्ड हो । यसअघि स्वीडेनबाट नै आयत भएर बिक्री हुँदै आएको हस्कभर्नाका मोटरसाइकल अब भने भारतमा उत्पादन भएर आउन थालेको छ ।

त्यसैगरि इटालियन प्रिमियम ब्राण्ड एमभी अगुस्टा र डुकाटीका उत्पादन पनि नेपालमा बिक्री हुँदै आएका छन् । यी दुबै ब्राण्डले यूरोपबाट नै मोटरसाइकल ल्याएर बिक्री वितरण गरिरहेका छन् । यी दुबै प्रिमियम ब्राण्डमा पर्छन् भने दुबैको मूल्यपनि महंगो रहेको छ । नेपालमा उपलब्ध १ करोड ४३ लाख रुपैयाँ मोटरसाइकल एमभी अगुस्टाले बिक्री गर्दै आउको छ भने डुकाटीको महंगो मोटरसाइलको मूल्य करिब ८६ लाख रुपैयाँ रहेको छ ।

नेपालमा सफल ब्राण्डको पहिचान बनाएको केटीएम पनि यूरोपियन ब्राण्ड हो । अष्ट्रियन ब्राण्ड केटीएमले भारतमा उत्पादन गरेका विभिन्न मोडलका ड्यूक मोटरसाइकल नेपालमा बिक्री हुँदै आएको छ ।


Back_to_top