नेपालमा चाँडै लन्च हुने TVS RTX 300 एड्भेन्चरका लोभ्याउने ९ पक्ष

काठमाडौं । टीभीएस कम्पनीको पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० चाँडै नेपाली बजारमा आउने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आरटीएक्स ३०० लन्च गर्ने तयारी थालेको हो ।

कम्पनीले हाल उक्त मोटरसाइकल नेपाल ल्याएर विभिन्न सडकमा परीक्षण गरिरहेको छ । कम्पनीले उक्त एड्भेन्चर मोटरसाइकल लन्च मिति बारे औपचारिक मिति घोषणा गरेको छैन । तर, आगामी साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने सम्भावना छ ।

टीभीएसको नयाँ ३०० सीसी इन्जिन प्लेटफर्ममा बने आरटीएक्स भारतीय बजारमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । कम्पनीले नेपाली बजारमा पनि आकर्षक मूल्यमा उपलब्ध गराउन सक्यो भने यसले आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धीलाई कडा टक्कर दिने देखिन्छ ।

एड्भेन्चर र लामो दूरीको यात्रालाई लक्षित गरी निर्माण गरिएको आरटीएक्स ३०० मा शक्तिशाली इन्जिन, आकर्षक डिजाइन, अत्याधुनिक इलेक्ट्रोनिक फिचर उपलब्ध छ । जसले आरामदायी राइडिङ अनुभव र प्रिमियम फिल दिन सक्षम छ ।

यहाँ हामीले आरटीएक्स ३०० मोटरसाइकलका बलिया ९ पक्ष बारे चर्चा गरेका छौं ।

१. टीभीएसको नयाँ आरटी एक्सडी ४ इन्जिन

आरटीएक्समा २९९.१ सीसीको सिंगल सिलिण्डर, लिक्विड र वाटर कुल्ड, फोर भल्ब, डीओएचसी इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावर तथा ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्छ । टीभीएसले यसको इन्जिनमा डुअल कुलिङ टेक्नोलोजी प्रयोग गरेको छ । जसले लामो यात्रामा पनि इन्जिनको तापक्रमलाई सन्तुलित राख्न मद्दत र्पुयाउँछ भने पर्फमेन्समा पनि फरक पार्दैन ।


२. मल्टिपल राइडिङ मोड

यसमा अर्बन, रेन, टुर र र्याली गरी चारवटा राइडिङ मोड उपलब्ध छन् । सडकको अवस्था र यात्राको आवश्यकता अनुसार राइडिङ मोड परिवर्तन गर्न सकिने भएकाले शहरदेखि अफरोडसम्म उत्कृष्ट अनुभव प्राप्त गर्न सकिन्छ ।

३ बाइ-डाइरेक्सनल क्विकशिफ्टर र स्लिप एण्ड असिस्ट क्लच

आरटीएक्स ३०० मा बाइ-डाइरेक्सनल क्विकशिफ्टर उपलब्ध गराइएको छ । यसको सहायताले क्लच प्रयोग नगरी अपसिफ्ट र डाउनसिफ्ट गर्न सकिन्छ । यसले विशेषगरी लामो दूरीको यात्रा तथा अफरोडिङलाई थप सहज बनाउँछ । यसमा दिइएको स्लिप एण्ड असिस्ट क्लच कम क्लच प्रेसरमा सहज गियर सिफ्टिङ गराउने र अचानक डाउनसिफ्ट गर्दा पछाडिको टायर लक हुन नदिने प्रविधि हो ।

४. क्रुज कन्ट्रोलको सुविधा

लामो यात्रालाई आरामदायी बनाउन यसमा क्रुज कन्ट्रोल फिचर दिइएको छ। निश्चित गतिमा मोटरसाइकललाई संचालन गर्न सकिने भएकाले राइडरको थकान कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।


५. स्मार्ट टीएफटी डिस्प्ले

यसमा ५ इन्चको कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध छ । टीभीएसको एक्स कनेक्टिभिटी, टर्न-बाई-टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, म्युजीक कन्ट्रोल तथा म्याप मिररिङ लगायतका स्मार्ट फिचरहरूले यसलाई प्रिमियम बनाएका छन् । यसबाट स्मार्टफोन कनेक्ट गरेर विभिन्न सूचनाहरू सहजै हेर्न सकिन्छ ।

६. ट्रयाक्सन कन्ट्रोल र स्विचेबल एबीएस

अफरोड तथा कठिन बाटोमा उत्कृष्ट नियन्त्रणका लागि आरटीएक्स ३०० मा लिनियर ट्रयाक्सन कन्ट्रोल सिस्टम दिइएको छ । साथै, रियर एबीएसलाई आवश्यकता अनुसार बन्द गर्न सकिने भएकाले अफरोडिङ गर्दा थप नियन्त्रण प्राप्त हुन्छ ।


७. एड्भेन्चर-रेडी सेटअप र ग्राउण्ड क्लियरेन्स

यसमा अगाडि डब्लूपी इन्भर्टेड फोर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन सेटअप उपलब्ध छ । १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको ह्वील सेटअपसँगै २०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स छ । यसको ब्लक प्याटर्न ट्युबलेस टायरले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ । यसको ट्राभल सस्पेन्सन सेटअप विशेषगरी नेपालको भौगोलिक अवस्थालाई पनि उपयुक्त हुने खालको छ ।

८ लगेज बोक्न सहज डिजाइन

लामो दूरीको यात्रालाई लक्षित गर्दै कम्पनीले यसमा प्यानियर तथा टप बक्स जडान गर्न मिल्ने माउन्टहरू उपलब्ध गराएको छ । यसले अतिरिक्त लगेज बोक्न सहज बनाउने भएकाले टुरिङका पारखीहरूका लागि यो उपयोगी विकल्प बन्न सक्छ ।


९. बिल्ड-टु-अर्डर (बीटीओ) विकल्प

आरटीएक्स ३०० को अर्को मुख्य विशेषता भनेको यसको बिल्ड-टु-अर्डर विकल्प हो । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार थप फिचर र एक्सेसरिज छनोट गरेर मोटरसाइकललाई कस्टमाइज गर्न मिल्ने सिस्टम बीटीओ हो । मोटरसाइकललाई व्यक्तिगत रूपमा कस्टमाइज गरी अर्डर गर्न सकिन्छ ।

निष्कर्ष : शक्तिशाली इन्जिन, आधुनिक इलेक्ट्रोनिक फिचरहरू र नयाँ एड्भेन्चर-रेडी डिजाइनका कारण टीभीएस आरटीएक्स ३०० नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा निकै आकर्षक विकल्प बन्न सक्ने देखिन्छ । आकर्षक मूल्यमा बजारमा आए  यसले ३०० सीसी सेग्मेन्टमा कडा चुनाैती दिने सम्भवना देखिन्छ ।


Back_to_top