काठमाडौं । ब्राण्डका हिसाबले निकै ठूलो नाम र मूल्यका हिसाबले निकै सस्तो मोटरसाइकल कुन किन्न पाइन्छ भन्यो भने सहजै उत्तर दिने कमै भेटिन्छन् ।
नेपालमा अहिले करिब एक दर्जन चल्तीका ब्राण्ड र अन्य तीन दर्जन जति सामान्य ब्राण्डका दुईपाँग्रे साधन उपलब्ध छ । यस्तोमा ठ्याक्कै यही भन्न जो कोहीलाई सजिलो हुने कुरै भएन ।
हाम्रो बजारमा उपलब्ध सबैभन्दा सस्तो मूल्यको मोटरसाइकल बजाज प्लाटिना १०० ईएस हो । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पीनले प्लाटिना मोटरसाइकलको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
बजाज प्लाटिना १०० ईएस कम मूल्यमा मात्र उपलब्ध छैन । यसले चालकको धेरै कुरा बचाउन सक्छ । त्यसैले यसलाई थोरै खर्चमा धेरै यात्रा गर्न चाहनेको मोटरसाइकल पनि भनिन्छ ।
प्लाटिनामा १०० सीसीको सानो इन्जिन उपलब्ध छ । निकै राम्रो माइलेज दिने मोटरसाइकल मिनिमल डिजाइनमा तयार भएको छ । यसमा साधारण डिजाइन, ग्रयाब रेल, एलईडी हेडलाइट, डीआरएल, टेलल्याम्प, कम्फर्टेवल सिंगल पिस सिट, इलेक्ट्रीक र किक स्टार्ट दिइएको छ ।

बजाजले यसमा इन्ट्री लेभल एड्भान्स कम्फोर्टेक कम्प्युटर टेक्नोलोजी, क्लास लिडिङ पावर प्रदान गरेको छ । आकर्षक क्रोम ब्ल्याक कलर र स्पोर्टी ग्राफिक्स डिजाइनमा प्लाटिना किन्न पाइन्छ ।
यसको इन्जिन ९९.५९ सीसीको हो । सिंगल सिलिन्डर, टू भल्ब, एयर कुल्ड, डीटीएसआई एग्जस्टेक इन्जिनले अधिकतम ८.२ पीएस पावर तथा ८.६ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीड क्षमताको गियरबक्स छ । मोटरसाइकलको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा छ ।
बजाजले प्लाटिनामा ११.५ लिटरको इन्धन ट्याङ्की दिएको छ । एक लिटर पेट्रोलले सहजै ७० किलोमिटरसम्म यात्रा गर्न सकिने भएको कारण प्रतिकिलोमिटर लागत पनि निकै कम रहेको छ ।
यो मोटरसाइकलको तौल जम्मा १०८ किलोग्राम मात्रै छ । कम्पनीले प्लाटिनाको अगाडि हाइड्रोलिक टेलिस्कोपिक फर्क र पछाडि एसएनएस ट्राभल सस्पेन्सन सेटअप दिएको छ । दुवै टायरमा ड्रम ब्रेक र अलोय ह्वील छ ।
निकै किफायती मोटरसाइकलमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । यसको लम्बाइ २००० एमएम, चौडाइ ८४० एमएम र उचाइ १०६० एमएम छ ।


