हुलाकबाट पठाइए पौने ६ लाख लाइसेन्स, १ हजार बढी होम डेलिभरी

काठमाडौं । सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ प्रभावकारी बन्दै गएको छ ।

हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका हुन् ।

नयाँ सरकार गठन भएलगत्तै ल्याइएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गरिने उल्लेख थियो । एक सय बुँदे कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र लगायत सरकारी कागजातहरू घरमै पुर्याउने व्यवस्था मिलाईने उल्लेख थियो ।

शासकीय सुधारसम्बन्धी सो बुँदामा हालसम्म उल्लेख्य प्रगति देखिएको र केही कामहरू अन्तिम चरणमा रहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

विभागका अनुसार हालसम्म यातायात व्यवस्था विभागबाट प्राप्त ५ लाख ७८ हजार ५३ थान सवारी चालक अनुमतिपत्र गोश्वारा हुलाक कार्यालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । तीमध्ये १ हजार ८१ थान अनुमतिपत्र कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालिकोट, बझाङलगायत जिल्लाका सेवाग्राहीको घरमै पुर्याएर वितरण गरिएको विभागले जनाएको छ ।

त्यस्तै, १ लाख ८१ हजार ८४३ थान राहदानी हुलाकमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा ढुवानी गरिएको छ । तीमध्ये ४ हजार ६४२ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याइएको विभागले जनाएको छ ।

शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउने योजनाअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग ढुवानीसम्बन्धी सम्झौताका लागि छलफल जारी रहेको महानिर्देशक पंगेनीले जानकारी दिइन् । हाल विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नहुँदा सम्झौताले अन्तिम रूप लिन नसके पनि २६६ वटा शैक्षिक प्रमाणपत्र ढुवानीको कार्य प्रारम्भ भइसकेको विभागले जनाएको छ ।

स्वास्थ्य क्षेत्रसँगको सहकार्य पनि विस्तार गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी १ हजार १२४ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र र हुलाक सेवा विभागबीच २०८३ जेठ १ गते सम्झौता भएपछि डाँक ढुवानी कार्य अगाडि बढाइएको छ । स्वास्थ्य बीमा बोर्डसँग पनि २०८३ जेठ १८ गते सम्झौता गरी त्यसको भोलिपल्टदेखि स्वास्थ्य सामग्री ढुवानी सेवा सुरू गरिएको छ ।


Back_to_top