दाङ । कानून कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेकाले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने तुलसीपुरमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा गरिएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता र बढ्दो सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् । उनिहरूले अहिले पनि सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सडकको अवस्था बारेमा अनभिज्ञ हुने र तीव्र गतिमा गाडी चलाउने लगायतका कारणले गर्दा दुर्घटना दिन प्रतिदिन बढी रहेको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए ।
सो कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश महेश शर्मा पौडेलले सडक तथा यातायातसम्बन्धी ऐन, कानून कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेको बताए । उनले सर्वसाधारणदेखि ठूलो व्यक्तिले समेत कानून मिच्ने गरेको बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार पनि सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा प्रदेशको सवारी दुर्घटनाको अवस्था, प्रहरीले नियन्त्रणसम्बन्धी गरेको काम कारबाहीका बारेमा जानकारी गराइएको थियो । सम्मेलनमा १२ जिल्लाका प्रहरी प्रमुखसहित २०० भन्दा बढी प्रहरी अधिकृतको सभागिता रहेको थियो ।

