काठमाडौं । नेपालमा बढेको आर्थिक गतिविधिलाई अटो मोवाइल व्यवसायले प्रतिबिम्बित गर्छ भन्दा फरक नपर्ला । निजी क्षेत्रको विस्तारसँगै ब्यक्तिगत सवारीसाधनको प्रयोग बढ्दो छ ।
सार्वजनिक यातायातको अवस्था कमजोर हुनु र समयमा सवारी नपाउनु निजी सवारीसाधन बढ्नुको मुख्य कारण हो ।
त्यसोत सुरुका दिनमा गाडी बेच्नको लागि हायरपर्चेज लोनका दिन फाइनान्स कम्पनी खोलेर ऋण दिने परम्परा सुरु भएको हो ।
सामान्यतया बैंंकहरूले ५० प्रतिशतमात्रै लगानी गर्ने गरेका छन् ।
निजी सवारीसाधन अत्यावश्यक वस्तु भइसकेको निकै समय भइसकेको छ । तर, सवारीसाधनमा लगाइएको कर हेर्दा लाग्छ, राज्य यो कुरामा सहमत छैन ।
नेपालमा पूरै रकम तिरेर गाडी किन्नेको संख्या निकै कम छ । वित्तीय व्यवस्थापनको हिसाबले पूरै रकम तिरेर सवारीसाधन किन्नु गतिलो इन्भेष्टमेन्ट होइन । त्यसैले गाडी किन्न फाइनान्सिङ गराउने ग्राहकको संख्या ठूलो छ । अझ भनौं, कार खरिद गर्नेले पूरै रकम एकैपटक लगानी नै गर्दैनन् ।
विकसित देशहरूमा बैंकले फाइनान्सिङ गर्दा ग्राहकको क्रेडिट स्कोर हेर्ने गर्छन् । तर, नेपालमा अहिलेसम्म यस्तो प्रणालीको विकास भएको छ्रैन । त्यहाँ फाइनान्सिङ गर्नु अगाडि ऋणीले हरेक महिना बैंकलाई तिर्नुपर्ने ईएमआई तिर्न सक्छ वा सक्दैन भन्ने कुरामात्रै वित्तीय संस्थाले हेर्ने गरेका छन् ।
कति प्रतिशत फाइनान्सिङ
बैंक तथा वित्तीय संस्थाले कुनै पनि गाडीको कोटेशन मूल्यमा अधिकतम् ५० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान रहेको छ । नेपाल राष्ट्र बैंकले अटो क्षेत्रमा जाने हायरपर्चेज लोनमा केही कडाई गर्दै ५० प्रतिशतभन्दा बढी लोन दिन रोक लगाएको हो । तर, विकसित मुलुकहरूमा यस्तो कर्जा ९० प्रतिशतसम्म कर्जा दिने गरिन्छ । सामान्यतया बैंंकहरूले ५० प्रतिशतमात्रै लगानी गर्ने गरेका छन् । जुन पुरानो प्रावधान पनि हो ।
कोटेशन मूल्य ग्राहकलाई दिने बिलमा अंकित खुद मूल्य हो, यसलाई नै आधार मानेर बैंकहरूले कर्जा प्रवाह गर्ने गरेका छन् । तर, गाडी फाइनान्सिङ गर्दा बैंकले धितो लिने या नलिने भन्ने उसको आन्तरिक नीति र जोखिमको आधार हेरेर निर्णय लिन सक्नेछन् ।
यद्यपि, यसरी फाइनान्सिङ गरेको गाडी बैंकको आफ्नै नाममा आउने हुँदा अन्य धितोको लिने गरिएको छैन ।
बैकले के हेर्छ ?
बैंकले ग्राहकको आम्दानीको स्रोत कति बलियो र भरपर्दाे छ भन्ने कुरा मुख्यरुपमा हेर्ने गर्छ । मासिक आम्दानीबाट आधारभूत खर्च गराउँदा बाँकी रकम ईएमआई तिर्न पुग्छ कि पुग्दैन भन्ने हिसाब गरेर मात्र फाइनान्सिङ गर्ने गरेको छ ।
सामान्यतया अधिकतम् सात वर्षका लागि ८४ किस्तामा कर्जा बुझाउनुपर्ने गरी बैंकले कर्जाप्रवाह गर्ने गरेका छन् । तर, गाडीको इन्स्योरेन्सवापत्को दायित्व भने गाडी चढ्ने व्यक्ति स्वयम्ले वहन गर्नुपर्छ ।
अटो फाइनान्सिङ बैंकको रिस्क फ्रि इन्भेष्टमेन्ट जस्तै हो । यस क्षेत्रको कर्जा डिफल्ट रेट १ प्रतिशत भन्दा निकै कम रहेको छ । माथि चर्चा गरिएका बैंकको न्यूनतम आवश्यकता पूरा हुँदा सजिलै बैंक लोनको सुविधा पाइन्छ ।
वीमामा विचार गर्नुस्
ग्राहकले ख्याल गर्नुपर्ने अर्काे कुरा के हो भने बैंकको डेलिभरि अर्डर लिएर शोरुमबाट गाडी निकालेपछि समाप्त हुनेछ, यसको मतलव गाडीको कुनै किसिमको इन्स्योरेन्स भएको हुँदैन । त्यसैले बैंकको नाममा नामसारी हुनुपूर्व गाडी किन्ने मानिस चनाखो हुनुपर्छ । किनकी, कम्पनीबाट बैंकको नाममा नामसारी नभएसम्म इन्स्योरेन्स कम्पनीले पनि इन्स्योरेन्स गर्ने सम्भावना रहँदैन ।

