ऋण लिएर गाडी किन्ने बढ्दै, चालु वर्षमै लिए ११ अर्ब ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर सवारी साधन खरिद गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।

अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो भएको र सहजै कर्जा पाइने अवस्था रहेकाले धमाधम ऋण लिएर गाडी किन्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ९ महिना (चैतसम्म)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनामा मात्रै सवारी साधन खरिदका लागि झण्डै ११ अर्ब कर्जा लिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको ९ महिनामा सवारी साधन खरिद प्रयोजनका लागि कुल १० अर्ब ९४ करोड ६४ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २८ अर्ब ६९ करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा चैत मसान्त आइपुग्दा बढेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा हायर पर्चेज कर्जा लगानी वृद्धिदर ८.५ प्रतिशतले बढेको हो । यो औसत कर्जा लगानी वृद्धिदरभन्दा धेरै हो । चालु आवमा समग्र कर्जाको वृद्धिदर ५.६ प्रतिशत मात्रै छ ।

चालु आवमा व्यक्तिगत (प्यासेन्जर) र कमर्शियल दुवै प्रयोजनका लागि प्रदान हुने कर्जा लगानी बढेको छ । ९ महिनामा कमर्शियल कर्जा लगानी ९.९ प्रतिशत र व्यक्तिगत ५.६ प्रतिशतले बढेको छ । अर्थात् ९ महिनामा कमर्शियल सवारी किन्न ८ अर्ब ५६ करोड ९ लाख रुपैयाँ र व्यक्तिगत सवारी किन्न २ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।

पछिल्लो समय सवारी साधनको माग र बिक्री बढ्न थालेसँगै हायर पर्चेज कर्जा लगानी पनि बढेको हो । अहिले बैंकको ब्याजदर इतिहासकै तल्लो बिन्दुमा छ । बैंकहरूको औसत बेसरेट ५ प्रतिशत हाराहारीमा छ । केही बैंकले न्यूनतम ०.५ प्रतिशत मात्रै प्रिमियम जोडेर मात्रै पनि कर्जा दिइरहेका छन् ।

गाडी किन्न बैंकबाट ५.५/६.५ प्रतिशत ब्याजदरमै ऋण पाउने अवस्था छ । त्यसैले गाडी किन्ने योजनामा रहेकाहरू सस्तो ब्याजदर भएको मौका छोपी धमाधम ऋण लिएर सवारी किन्न थालेको देखिन्छ । बैंकहरूले पनि ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याइरहेका छन् । केही बैंकले ६ प्रतिशतभन्दा कम ब्याजदरको स्कीम समेत ल्याएको छन् ।

विगत ३ वर्षदेखि आर्थिक शिथिलता कायमै रहँदा कृषि, उत्पादनमूलक, औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । शिथिलताका बाबजूद अटो, सेयर लगायत क्षेत्रमा भने कर्जाको माग छ । यस्तोमा बैंकहरूले यी क्षेत्रमा धमाधम कर्जा विस्तार गरिरहेका छन् । साथै, बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदरको आकर्षक सवारी कर्जा समेत ल्याइरहेका छन् ।

बैंकहरूले सवारी कर्जा ७ वर्षसम्मका लागि प्रवाह गर्छन् । व्यवसाय खुम्चिएको बेलामा दीर्घकालीन ऋण प्रवाह गर्दा समग्रमा फाइदा पुग्ने भएकाले अहिले सस्तो ब्याजदरमै भए पनि कर्जा लगानी गरेका हुन् ।


Back_to_top