काठमाडौं । एड्भेन्चर मोटार्ड सेग्मेन्टमा नयाँ मोटरसाइकल ब्रान्ड नेपालमा सार्वजनिक भएको छ । चिनियाँ कम्पनी जोन्टेसका मोटरसाइकल नेपाली बजारमा विक्री सुरु भएको हो ।
जोन्टेसका मोटरसाइकलहरु यूरोपमा सफल रहेको छन् ।
जोन्टेसका मोटरसाइकल विश्वका १०० भन्दा धेरै देशमा विक्री वितरण भइरहेको छ । जोन्टेस मोटरसाइकल आइरन मंक प्रालिले नेपाल ल्याएको हो । आइरन मंकले विगत ५ वर्षदेखि विग बाइकहरुको सर्भिसमा काम गर्दै आएको थियो ।
लामो समयको विग बाइकमा सर्भिसको अनुभव भएको कम्पनी आरन मंकले जोन्टेसका मोटरसाइकलमा लाइफ टाइम निशुल्क सर्भिस दिने बताएको छ । ग्राहकले एक पटक जोन्टेस मोटरसाइकल खरिद गरे पश्चात लाइफ टाइम सर्भिसको चिन्ता गर्नु नपर्ने बताएको हो ।

‘जति पनि नयाँ ब्रान्ड नेपाल भित्रने गरेको छ त्यसमा ग्राहकले सर्भिस तथा पार्टसको समस्या झेल्नु परेको हामिले देखेका छौ र हाम्रो ब्रान्डमा ग्राहकले त्यस्तो समस्या भोग्नु नपरोस भनेर यस्तो स्कीम ल्याएका हौ’, जोन्टेसका मार्केटिङ प्रमुख सफल न्यौपानेले मेरोअटोसँग भने । हामीले लामो समयदेखि विग बाइकको सर्भिस गर्दै आएको कारण पनि ग्राहकले हामिलार्ई विश्वास गर्नेमा हामी ढुक्क छौं, न्यौपानेले भने ।
आइरन मंकले पहिलो चरणमा नेपाल ल्याएको जीटी १५५ एभेन्चर मोटार्ड डिजाइनको मोटरसाइकलमा ९ भन्दा धेरै फिचर १५५ सीसी सेग्मेन्टमा नै पहिलो रहेको छ । यो मोटरसाइकल पुर्णतया कि-लेस रहेको छ ।
कम्पनीले यसमा प्रिमियम एड्भेन्चर मोटरसाइकलहरु बीएमडब्ल्यू जीएस १२५०, अफ्रिका ट्वीनजस्ता मोटरसाइकलमा हुने स्पोक ट्युवलेस टायर दिएको छ । त्यस्तै, अन्य सेग्मेन्ट फ्रस्ट फिचरमा सुपरबाइक ग्रेड १० एम्पीयर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्यूल ट्याङ्क, वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर, ३०० एमएम साइज डिस्क ब्रेक तथा डबल च्यानल एबीएस जस्ता फिचर छन् ।
त्यस्तै अन्य फिचरमा यो मोटरसाइकलमा एन्टि हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म, यूएडी फर्क, फास्ट चार्जिङ यूएसवी पोर्ट, डबल एलइडी हेडल्याम्प, एलइडी डिआरएल छन् ।

जोन्टेस जीटी १५५ मा यूरो ५ मापदण्डका लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिन यामाहा आर १५ भी फोर भन्दा पावरफुल रहेको छ । उक्त इन्जिनले १९.०३ पीएस पावर र १६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ ।
अलोय ह्वील र स्पोक ह्वीलगरी दुई भेरियन्टमा नेपाल नेपाल आएको जीटी १५५ मोडलको डायमण्ड कट अलोय ह्वील भेरियन्टको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै, स्पोक ह्वील भेरियन्टको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले टेकुमा आफ्नो पहिलो शोरुम स्थापना गरेर विक्री वितरण सुरु गरेको हो । मोटरसाइकलको लागि आवश्यक सर्भिस भने गोंगबुमा रहेको सर्भिस सेन्टरबाट पाउन सकिने कम्पनीले जनाएको छ ।

