६ महिनाभित्रै फास्ट चार्जिङ नेटवर्क १०० पुर्‍याउँदै एथर, चार्जिङ निःशुल्क

काठमाडौं । नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जी चार्जिङ स्टेसन निर्माणमा आक्रमक बनेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटरको बढ्दो माग र ग्राहकको सुविधालाई मध्येनजर गर्दै देशभर चार्जिङ नेटवर्क विस्तार गरिरहेको हो ।

कम्पनीले नेपालभर ईभी इकोसिस्टमलाई थप सशक्त बनाउन आफ्नो फास्ट चार्जिङ पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । कम्पनीले हालसम्म देशका ४० स्थानमा एथर ग्रिड फास्ट चार्जिङ नेटवर्क निर्माण गरिसकेको छ । आगामी ६ महिना (सन् २०२६) भित्रै थप ६० वटा चार्जिङ स्टेसन निर्माण गर्ने आक्रमक योजना अघि बढाएको हो ।

वैद्यज् इनर्जीका सेल्स हेड सलमान खानले सन् २०२६ भित्रै फास्ट चार्जिङको संख्या १०० पुर्याउने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार हाल देशक ठूला सहर र मुख्य राजमार्ग क्षेत्रमा धमाधम फास्ट चार्जिङ निर्माण भइरहेको छ ।

उनका अनुसार हाल पोखरा, विराटनगर, हेटौंडा, वीरगंज लगायत क्षेत्रलाई चार्जिङ स्टेसन निर्माणको प्राथमिकतामा राखिएको छ । साथै, कुलेखानी-हेटौँडा, नागढुंगा-मुग्लिन, मुग्लिन-पोखरा, नारायणगढ-हेटौंडा, हेटौंडा-वीरगंज, बर्दीबास-विराटनगर लगायत प्रमुख राजमार्गहरूमा धमाधम चार्जिङ स्टेसन निर्माण गरिरहेको उनले बताए ।

‘पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटरमा उपभोक्ताको आकर्षण बढ्दो छ । बिक्रीसँगै चार्जिङ स्टेसन निर्माण, स्पेयर पार्टस, सर्भिसलाई प्रमुख प्राथमिकतामा राखेका छौं,’ उनले मेरोअटोसँग भने, ‘ग्राहकको सुविधा हाम्रो पहिलो प्राथमिकता हो । हालसम्म देशभर ४० बढी फास्ट चार्जिङ स्टेसन बनाइसक्यौं। । सन् २०२६ को अन्त्यसम्म १०० वटा पुर्याउने लक्ष्य राखेका छौं । कम्तीमा ८५ वढी निर्माण हुन्छन् भन्ने विश्वास छ ।’

इकोसिस्टक विकासले नै ब्राण्डलाई थप बलियो बनाउने उनले बताए । चार्जिङ पहुँच विस्तार गर्दै लामो दूरीको ईभी यात्रा थप सहज र चिन्तामुक्त बनाउने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।

नेपालमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री हुँदै आए पनि केही ब्राण्ड बाहेक अन्यले पूर्वाधार निर्माणमा चासो नै दिएका छैनन् । तर, एथरले भने बिक्रीसँगै इकोसिस्टम निर्माणलाई प्राथमिकत दिएको देखिन्छ । जसले ब्राण्ड प्रति ग्राहकको विश्वास र भरोसा बढाइरहेको छ ।

चार्जिङ निःशुल्क

एथरले चार्जिङ पूर्वाधार निर्माण मात्रै होइन, ग्राहकलाई शून्य लागतमै चार्ज गर्ने सुविधा समेत उपलब्ध गराइरहेको छ । सेल्स हेड खानका अनुसार एथरका ग्राहकले हाल देशभरका ४० बढी फास्ट चार्जिङ स्टेसनमा सन् २०२७ सम्मै निःशुल्क चार्जिङ सुविधा पाइरहेका छन् । अर्थात् देशभरका जुनसुकै स्टेसनमा पनि चार्ज गरेकाे पैसा तिर्नु पर्दैन ।

ब्राण्डप्रति ग्राहकको थप विश्वास र ग्राहकको चार्जिङ खर्च जोगाइदिन निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराइएको उनले बताए । ‘चार्जिङ पूर्वाधार निर्माणमा एथर नेपालमा सबैभन्दा अगाडि छ । जुन ब्राण्डको पहिचान समेत हो,’ उनले भने, ‘साथै, हामीले ग्राहकको सुविधा र खर्च जोगाइदिन देशभरका फास्ट चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराएका छौं । यो सुविधा सन् २०२७ सम्मै जारी रहन्छ ।’

कम्पनी बिक्री नेटवर्क विस्तारमा आक्रमक बनिरहेको छ । हालसम्म देशभर १ दर्जन अत्याधुनिक शोरुम (एक्सपेरियन्स सेन्टर) स्थापना गरिरहेको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र ५ वटा, पोखरा, चितवन, इटहरी, बुटवल, जनकरपुर लगायत ठूला सहरमा अत्याधुनिक शोरुम संचालन गरिरहेको छ ।

साथै, ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा सर्भिस सेन्टर पनि संचालन गरिरहेको छ ।

एथर नेपालमा सर्वाधिक बिक्री हुने इलेक्ट्रीक स्कुटर ब्राण्ड समेत हो । सन् २०२३ को नोभेम्बरदेखि नेपालमा बिक्री थालेको कम्पनीले हालसम्म करिब ४ हजार स्कुटर बेचिसकेको छ । हाल कम्पनीले एथर ४५० एक्स र एथर रिज्टा मोडल बिक्री गरिरहेको छ ।


Back_to_top