नारायणगढ-बुटवल सडको पूर्वीखण्डमा ढलान र कालोपत्र सकियो, ३० वर्ष टिक्ने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वीखण्ड (नारायणगढ-दाउन्ने)मा कालोपत्र र ढलानको काम सकिएको छ । निर्माण थालिएको ७ वर्षपछि ६५ किलोमिटर लामो यो खण्डमा कालोपत्र र ढलानको काम सकिएको हो ।

बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका अनुसार ढलान, कालोपत्र, पुलसहित निर्माणको काम सकिएको छ ।  हालसम्म यस खण्डको भौतिक प्रगति ९२ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

अब पूर्वी खण्डका केही ठाउँमा  सजावट र डिभाइडरमा फूल रोप्ने काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

पश्चिम खण्ड (दाउन्ने-बुटवल)को काम पनि अन्तिम चरणमा पुगेको छ । यस खण्डको दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ। सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकाल बताए  ।

दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रको सट्टा गरिएको गुणस्तरीय ढलान सडकको आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ ।

भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान ३० देखि ४० वर्षसम्मै टिक्ने ढकालले बताए  । ‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ । यदि भार नियन्त्रण भयो र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ,’ उनले भने ।

सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको आयोजनाले जनाएको छ। आगामी २० देखि ३० वर्षसम्मको सवारी चापको पूर्वानुमानलाई आधार मानेर दैनिक २० हजार सवारी साधन गुडे पनि क्षति नपुग्ने गरी सडक निर्माण गरिएको हो ।

नारायणगढ-बुटवट सडक निर्माण अन्तिम चरणमा पुगेसँगै विगत ७ वर्षदेखि सास्ती खेप्दै आएका स्थानीय र यात्रुलाई राहत मिलेको छ ।  ४२ महिना भित्र सम्पन्न गर्नेगरी २०७५ माघमा काम थालिएको यो सडकको हालसम्म चौथोपटक म्याद थपिसकिएको छ ।

११४ किलोमिटर सडकलाई नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४९ किलोमिटर दुईखण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।  दुवै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आयोजनको कुल अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top