काठमाडौं । हिरो मोटोकर्पले जनवरी १७ देखि सुरू हुने भारत मोबिलिटी एक्स्पोमा ४ नयाँ मोटरसाइकल प्रदर्शन गर्ने भएको छ ।
कम्पनीले एक्स्पोमा हिरो माभ्रिक ४४०, हिरो एक्सपल्स २१०, एक्स्ट्रीम २५० आर र करिज्मा एक्सएमआर २५० सार्वजनिक गर्ने भएको हो ।
यी मोटरसाइकलहरू कम्पनीले २०२४ को अन्त्यमा भएको मिलान अटो शो २०२४ मा पनि प्रदर्शनी गरेको थियो । यी मध्ये माभ्रिक ४४० को नयाँ भेरियन्ट हो । साथै, एक्सपल्स २१० प्रो प्रोडक्सन तयार भएको अनुमान गरिएको छ ।
यसका अलावा अन्य दुई मोडल करिज्मा एक्सएमआर २५० र एक्स्ट्रीम २५० आर भने २०२५ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गर्न सकिन्छ ।
अपडेटेड हिरो माभ्रिक ४४०

हिरोले अपडेट सहित देखाउने माभ्रिक ४४० मा अपसाइड डाउन सस्पेन्सन दिइएको छ । यसमा कम्पनीले विभिन्न नयाँ कलर अप्सन थपेर ल्याउन लागेको हो । कम्पनीले यसमा रहेको एलसीडी डिस्प्लेलाई हटाएर टीएफटी डिस्प्ले दिएको छ ।
हिरोले २०२५ माभ्रिकको कुल तौल २ केजीले घटाएको छ । यसले यसको पावर टु वेट रेसियो राम्रो बनेको कम्पनीको दावी छ । यसका अलावा कुनै पनि मेकानिकल परिर्वतन नयाँ मोडलमा छैन । यसमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । उक्त इन्जिनले २७ बीएच पावर र ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर उपलब्ध हुनेछ ।
एक्सपल्स २१०

हिरोले इक्मा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरेको एक्सपल्स २१० भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले अटो एक्स्पो लगत्तै यसको बिक्री सुरू गर्ने अनुमान गरिएको छ ।
एक्सपल्स २०० फोर भीकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ भने यसमा धेरै परिर्वतनहरू देख्न पाइने छ । नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याउन लागेको हो ।
यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।
हिरो एक्स्ट्रीम २५० आर

कम्पनीले नेकेड स्ट्रीट फाइटर सेग्मेन्टमा २५० सीसी नयाँ मोटरसाइकल तयार पारेको छ । कम्पनीले पहिलो पटक ‘इक्मा अटो शो २०२४’मा सार्वजनिक गरेको एक्स्ट्रीम २५० आरमा लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ ।
नयाँ इन्जिनले ३० बीएच पावरका साथै, २५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसले ०–६० को स्पीड मात्र ३.२५ सेकेन्डमा भेट्छ । यसमा एलइडी लाइट, डबल च्यानल एबीएस, स्लीपर क्लच जस्ता फिचर हुनेछन् ।
करिज्मा एक्सएमआर २५०

इक्मा अटो शो २०२४ मा कम्पनीले फुल फियर्ड एक्सएमआर २५० प्रदर्शन गरेको थियो । यसमा एक्स्ट्रीम २५० आरमा प्रयोग भएको इन्जिन प्रयोग भएको छ । यो मोटरसाइकलले सुजुकी जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ ।
यो मोटरसाइकलमा यूएसडी फर्क, क्लिप अन ह्याण्डलबार, डबल च्यानल एबीएस, टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध हुनेछन् ।


