जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो चर्चित कार सिटीको नयाँ जेनेरेशन केही समयअघि थाईल्याण्डमा सार्वजनिक गरेको थियो । थाई अटो एक्स्पोमा सार्वजनिक गरिएको उक्त कारलाई होन्डाले नोभेम्बर दोस्रो साताबाट बिक्री सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार सिटीले थाइल्याण्डमा २०१९ को १ डिसेम्बरसम्ममा ४ हजार ५०० भन्दा बढी बुकिङ पाएको थियो । अन्य एसियाली बजारमा नयाँ जेनेरेशन सिटी २०२० मा ल्याउने होन्डाले यसअघि नै जनाएको थियो ।
यसअघि होन्डाले सिटी कारलाई ३ भेरियन्टमा ल्याएको थियो भने, अहिले थप एक भेरियन्टसहित ४ भेरियन्टमा ल्याएको छ । एस, भी, एसभी र आरएस भेरियन्टमा होन्डा सिटी उपलब्ध हुनेछ । नयाँ आरएस भेरियन्ट निकै आकर्षक, सुविधायुक्त र आरामदायी भएको कम्पनीले जनाएको छ ।
नयाँ जेनेरेशन २०२० होन्डा सिटीको मु्ख्य विशेषताहरुमा एलईडी हेडल्याम्प, १६ इन्च डियुल टोन अलोय ह्वील, शार्क फिन एन्टेना, एलईडी टेलल्याम्प, ८ इन्च टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचर समावेश गरिएको छ । यसमा मल्ट्री इन्फरमेशन डिस्प्लेको साथ नयाँ टुइन क्लक एनालग क्लस्टर पाउन सकिन्छ ।
होन्डाले नयाँ सिभिकमा रहेकाे १.० लिटरको भीटिइसी टर्बो, थ्री सिलिण्डर पेट्रोल इन्जिन यसमा दिएको छ । यसअघिको सिटीमा १.५ लिटर इन्जिन दिइएको भएपनि उक्त इन्जिनलाई हटाएको हो ।
यसमा रहेको १.० लिटर इन्जिनले ५,५०० आरपीएममा अधिकतम १२२ पीएस र २००० देखि ४,५०० आरपीएममा १७३ एनएम (न्यूटन मिटर) टर्क प्रदान गर्ने छ ।
कम्पनीले यसलाई अटोमेटिक गियरबक्समा मात्र उपलब्ध गराउने छ । उत्कृष्ट पर्फमेन्सको साथ आएको नयाँ सिटीले प्रतिलिटर २३.८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

