काठमाडौं । बजारमा इलेक्ट्रीक कारको माग बढ्दै गएसँगै विभिन्न कम्पनीले आफ्नो इलेक्ट्रीक मोडल बजारमा भित्र्याइरहेका छन् । यस्तोमा नेपालमा पहिलोपटक इलेक्ट्रीक कार ल्याउने महिन्द्राले सन् २०२० को मार्च दोस्रो साता नयाँ इलेक्ट्रीक कार नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
महिन्द्रा स्रोतका अनुसार भारतमा आगामी महिना सार्वजनिक हुने केयूभी-१०० इलेक्ट्रीक माइक्रो एसयूभीलाई कम्पनीले नेपाली बजारमा ल्याउने भएको हो । नेपाली बजारमा यो इलेक्ट्रीक कार अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जिले बिक्री गर्नेछ ।
यस्तो छ केयूभी १०० इलेक्ट्रीक
रेगुलर बजारमा बिक्री वितरण भइरहेको ग्यासोलिन केयूभी-१०० जस्तै आकार, स्वरुप र फिचरमा उपलब्ध हुने केयूभी इलेक्ट्रीकको विभिन्न चरणमा प्रोटोटाइप रिभ्यू गरेको महिन्द्रा एण्ड महिन्द्राले जनाएको छ । महिन्द्राले इलेक्ट्रीक केयूभी-१०० लाई उच्च प्राथमिकताका साथ उत्पादन गर्ने उद्देश्यले आगामी फ्रेबुअरीमा हुने अटो एक्सपोपछि यसको बिक्री सुरु गर्ने जनाइएको छ ।
महिन्द्रा इकेयूभी-१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको छ ।

इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटरसम्म माइलेज दिने जनाइएको छ । यो गाडीको लेन्थ ३७ सय एमएम, वाइड १७ सय ३५ एमएम, हाइट १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ ।
लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० मूल्य ९ देखि १० लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।
अहिले नेपाली बजारमा दैनिक दुईदेखि ३ यूनिटसम्म इलेक्ट्रीक कारको बिक्री हुन थालेको छ । अहिले महिन्द्रा, किया, हुन्डाई, बिवाइडी, एमजी लगायतका ब्राण्डले इलेक्ट्रीक कार बिक्री गर्दै आएकोमा केही महिना भित्र अन्य कम्पनीले पनि इलेक्ट्रीक कार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।


