भारतीय बजारमा उपलब्ध सबैभन्द सानो इन्ट्रिलेवल कार मारुती सुजुकी अल्टो भारतीय बजारमा सर्वाधिक बिक्री हुने कार बनेको छ । २०१९ को फेब्रुवरीमा अल्टो २४ हजार ७ सय ५१ वटा बिक्री भएको हो ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (एसआइएएम) का अनुसार गत वर्षको फेब्रुअरीमा अल्टो १९ हजार ९ सय ४१ वटा बिक्री भएका थियो । गत वर्षको फेब्रुवरीमा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार मारुती सुजुकीको कम्प्याक्ट सेडान डिजायर थियो ।
यो वर्षको सोही अवधिमा भने डिजायरलाई अल्टोले उछिनेको छ । यो फेब्रुवरीमा डिजायर १५ हजार ९ सय १५ वटा बिक्री हुँदै चौथो स्थानमा रहेको छ । गत वर्षको सोही अवधिमा डिजायर २० हजार ९ सय ४१ वटा बिकेको थियो ।
यो वर्ष दोस्रो धेरै बिक्री हुने कारमा मारुतीकै ह्याचब्याक स्वीफ्ट छ जुन १८ हजार २ सय २४ वटा बिक्री भएको होे । २०१८ को फेब्रुवरीमा स्वीफ्ट १७ हजार २ सय ९१ वटा बिकेको थियो । त्यस्तै तेस्रो स्थानमा मारुतीको बलेना १७ हजार ९ सय ४४, पाँचौं स्थानमा पनि सुजुकी कै वेगनआर छ जुन फेब्रुअरीमा १५ हजार ६ सय ६१ वटा बिकेको तथ्यांक छ ।
छैटौं स्थानमा पनि मारुतीकै कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा रहेको छ जुन २०१९ को फेब्रुवरीमा ११ हजार ६ सय ३१ वटा बिकेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतमा ब्रेजा ११ हजार ६ सय २० बटा बिकेको थियो ।
सातौं स्थानमा भने हुन्डाई माेटर इन्डियाको प्रिमियम ह्याचब्याक इलाइट आइट्वान्टी रहेको छ जुन ११ हजार ५ सय ४७ वटा बिकेको हो । यो कार गत वर्ष भने १३ हजार ३ सय ७८ बटा बिकेको थियो । आठौं स्थानमा पनि हुन्डाईको कम्प्याक्ट एसयूभी क्रेटा र नवौं स्थानमा ग्रान्ड आइटेन रहेको छ । २०१९ को फेब्रुवरीमा क्रेटा र ग्रान्ड आइटेन क्रमशः १० हजार २ सय ६ र ९ हजार ६५ वटा बिक्री भएको एसआइएएमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
र २०१८ को फेब्रुवरीमा भारतमा सर्वाधिक बिक्री हुने कारको सूचिको दशौं स्थानमा भारतीय कम्पनी टाटा मोटर्सको ह्याचब्याक टियागो रहेको छ । यो अवधिमा टियागो ८ हजार २ सय ८६ वटा बिक्री भएको छ ।

