काठमाडौं । मारुती सुजुकीे अल्टो के१० सधैँको लागि बन्द भएको छ । कम्पनीले यसको उत्पादन बन्द गर्ने घोषणा गरेको हो । साथै, कम्पनीले आफ्नो आधिकारीक वेभसाइटबाट के१० लाई हटाएको छ ।
नेपालमा पनि मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले नेपाली बजारमा पनि अल्टो के १० बिक्री गर्दै आएको थियो । यद्यपी यो मोडल खासै राम्रो बिक्री हुन सकेको मोडल होइन ।
सिजी मोटोकर्पले यसको नेपालमा मूल्य २२ लाख ८९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । ९९८ सीसी क्षमताको के १० ले प्रतिलिटर २४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
बीएस ६ मापदण्डको इन्जिनमा कम्पनीले यसलाई अपग्रेड नगरेको कारण यो मोडलको उत्पादन बन्द भएको हो । मारुती सुजुकीले अल्टो के१० २०१० मा पहिलोपटक बजारमा उतारेको हो ।

२०१९ मा सुरक्षा फिचर थप गरेको के१० मा ड्राइभर साइड एयरव्याग, एबीएस, इबीडी, फ्रन्ट सीटवेल्ट रिमाइन्डर र पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको थियो ।
कम्पनीले २०१९ मा ९९८ सीसी क्षमताको एसप्रेसो सार्वजनिक गरेसँगै अल्टो के१० बन्द गरेको भारती मिडियाले उल्लेख गरेका छन् ।

