काठमाडौं । फोर्डले बनाएको पहिलो पावरफुल इलेक्ट्रीक कार मस्टाङको बिक्री सुरु भएको छ । इलेक्ट्रीक मस्टाङको बिक्री सुरु भएसँगै कम्पनीले मस्टाङ कोब्रा जेटको उत्पादनमा काम गरिरहेको छ । कोब्रा जेटले केबल ८ सेकेन्डमा २४१ किलोमिटरको स्पीड भेट्टाउने कम्पनीले दाबी गरेको छ ।
फोर्ड मस्टाङ कम्पनीको सर्वाधिक बिक्री हुने स्पोर्टस कार हो । यो कार आफ्नो पावरको कारण चर्चित रहँदै आएको थियो । फोर्डले उक्त कुरालाई इलेक्ट्रीक मस्टाङ कोब्रा जेट कारमा पनि निरन्तरता दिएको छ ।
मस्टाङ कोब्रा जेटले अधिकतम १३८१ बीएच पावर प्रदान गर्छ । सन् १९६० मा फोर्डले ल्याएको कोब्रा जेटबाट प्रेरित नयाँ इलेक्ट्रीक कार ६८ यूनिटमात्र उत्पादन गर्ने कम्पनीले जनाएको छ । अहिले यो कारको प्रोटोटाइप परिक्षण भइरहेको छ ।
‘यो प्रोजेक्ट कम्पनीको लागि निकै चुनौति पूर्ण रहेको थियो । तर, काम गर्दै जाँदा यसले हामीलाई निकै सिकाएको छ’, फोर्डका ग्लोवल डाइरेक्टर मार्क रशब्रुकले भने ।
यसमा प्रयोग भएको व्याट्री, मोटर, पावर र टेक्नोलोजीको विषयमा कुनै जानकारी दिइएको छैन । यसको सफलतापछि कम्पनी अन्य मोडलपनि बजारमा उतार्ने तयारीमा रहेको छ ।

