काठमाडौं । अपडेट भएका आएका एथरका तीन मोडलको स्कुटरको मूल्य घटेको छ ।
भारतीय स्कुटर ब्राण्ड एथरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेशन अन्तर्गतको वैद्य इनर्जीले अपडेट सहितको एथर ४५० एक्स सिरिजको तीन भेरियन्टको मूल्य समायोजन गरेको हो ।
कम्पनीले केही समय अघि नेपाली बजारमा २०२५ मोडलका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको थियो । अहिले अपडेट गरेर ल्याएको ४५० सिरिजको टप भेरियन्टको मूल्य ४० हजार रुपैयाँ र बेस भेरियन्टमा २५ हजार रुपैयाँ घटाएको छ ।
कम्पनीका अनुसार अपडेटसहितको एथर ४५० एक्सको २.९ किलोवाट आवर ब्याट्री भेरियन्टको मूल्य ३ लाख ९९ हजार ९९९ रुपैयाँबाट घटाएर ३ लाख ६४ हजार ९९९ रुपैयाँ र ४५० एक्सकै ३.७ किलोवाट आवर ब्याट्री भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९९९ बाट घटाएर ३ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, ४५० एसको २.९ किलोवाट आवर ब्याट्रीमा २५ हजार रुपैयाँले घटेर ३ लाख २४ हजार ९९९ रुपैयाँ कायम भएको छ ।
कम्पनीले ल्याएको नयाँ स्कुटरमा तीन मोडमा ट्रयाक्सन कन्ट्रोल, एथर स्ट्याक ६, वृद्धि भएको १६१ किलोमिटरसम्मको आइडीसी रेन्ज र नयाँ कलर अप्सन रहेको छ ।

