काठमाडौं । यदि, तपाई ५० देखि ६० लाख भित्र उत्कृष्ट इलेक्ट्रीक कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईले धेरै विकल्प पाउनुहुन्न ।
यो सेग्मेन्टमा महिन्द्राले एक्सयूभी ४००, एमजी जेडएस र सेरेस थ्री जस्ता मोडल उपलब्ध भएपनि अहिले जेडएस र सेरेस-३ यो सेग्मेन्टबाट बाहिर निस्के । छुटको प्रतिस्पर्धामा एमजी र सेरेसका एसयूभी ५० लाखभन्दा कम मूल्यमा उपलब्ध छन् ।
अहिले यो सेग्मेन्टमा सबैभन्दा बलियो एसयूभी बीवाइडी एटो-३ एड्भान्स मोडल हो । सर्वाधिक रुचाईको एटो-३ अहिलेसम्म नेपालमा ३ हजार यूनिट बिक्री पुरा गरिसकेको मोडल हो । आफ्नो स्पोर्टी बनोट र इन्टेरियर डिजाइनको कारण एटो-३ ले विद्युतीय कार किन्ने ग्राहकको अपेक्षालाई ‘नेक्ट लेभल’मा लान सफल भएको छ ।
बीवाइडीले प्रयोग गरेको चर्चित ब्लेड ब्याट्री, आफ्नै मोटर र ब्याट्री मेनेजमेन्ट सिस्टमको कारण एटो-३ ले नेपाल आएदेखिनै चर्चा पाउन सफल भयो । सँगसँगै आधिकारीक बिक्रेता साइमेक्स इंकको रणनीति र सर्भिस लगायतका क्षेत्रमा गरेको लगानीले एटो-३ को बिक्रीलाई थप बुष्ट गरेको देखिन्छ । अहिले एटो-३ एड्भान्स मोडल ५६ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
त्यसैगरी यहि सेग्मेन्टमा उपलब्ध अर्को एसयूभी ओमोडा ई-५ डिलक्स हो । नेपाल आएको छोटो समयमा नै ५०० भन्दा धेरै ओमोडाका कारहरु सडकमा गुड्न थालेका छन् । यसको सनरुफ बाहेकको डिलक्स भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साउनको अन्तिमबाट ई-५ डिलक्स नेपाली बजारमा उपलब्ध भएको हो ।
यी दुबै मोडलको इन्ट्री भेरियन्टको मूल्य हो । एटो-३ को टप भेरियन्ट सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ भन ओमोडा ई-५को मूल्य ६१ लाख ९९ रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
दुई मोडलमा फरक
ओमोडा ई-५ मा तपाई सनरुफ पाउनु हुन्न । तर, बीवाइडी एटो-३ मा पानारोमीक सनरुफ उपलब्ध छ । ब्याट्री साइजमा भने ओमोडा निकै अगाडि छ । दुबैमा एउटै ब्लेड ब्याट्री छ । साइजमा ओमोडामा ६१ किलोवाट आवरको ब्याट्री छ भने एटो-३ मा ५० किलोवाट आवरको ब्याट्री छ ।
ब्याट्री ठूलो भएसँगै ओमोडाको रेन्ज धेरै हुने नै भयो । डब्लूएलटीपीका अनुसार यसले ४३० किलोमिटर रेन्ज दिन्छ भने एटो-३ एड्भान्सले ३४५ किलोमिटर रेन्ज दिनेछ ।
मोटर पावर समान रहेको यी दुबै एसयूभीको बडी डिजाइन भने फरक छ । एटो-३ स्पोर्टी एसयूभी हो भने ओमोडा ई-५ कुप्पे डिजाइन एसयूभी हो ।