दशैंमा सेकेन्ड ह्याण्ड कार किन्नेले बिचार गर्नु पर्ने ६ कुरा

काठमाडौं । चाडपर्व नजिकिएसँगै धेरै मानिसहरू  कार तथा मोटरसाइकल किन्ने योजना बनाउँछन् । राम्रो आम्दनी हुनेहरूले नयाँ सवारी साधन खरिद गर्छन भने । कम आम्दानी र केही नयाँ चालकले सेकेन्ड ह्याण्डको विकल्प रोज्छन् ।

सेकेन्ड ह्याण्ड सवारी खरिद गर्दा कहिलेकाहीँ ठगिने गरेको सुन्नमा आउँछ । यदि तपाईं पनि सेकेन्ड ह्याण्ड सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने धेरै कुरामा ध्यान दिन आवश्यक छ ।  हामीले यहाँ सेकेन्ड ह्याण्ड सवारी साधन किन्दा ध्यान दिनुपर्ने मुख्य ६ कुराको बारेमा चर्चा गरेको छौं । यसले तपाईंहरूलाई सेकेन्ड ह्याण्ड सवारी खरिदमा सहज हुने हाम्रो विश्वास छ ।

१. साधनको अवस्था जाँच गर्ने 

जब तपाईं सेकेन्ड ह्याण्ड साधन किन्न जाँदै हुनुहुन्छ भने अन्तिम सम्झौता गर्नु अघि यसको अवस्था राम्ररी जाँच गर्नुहोस् । यदि तपाईंसँग प्राविधिक कुराहरूको ज्ञान छैन भने आफूले चिनेजानेको मेकानिकको मद्दतले खरिद गर्न लागेको साधनको अवस्था चेक गर्न लगाउनु राम्रो हुन्छ। मेकानिकल कुराहरू सबैलाई थाहा नहुने भएकोले एक्सपर्टको मद्दत लिन आवश्यक हुन्छ ।

२. टायरको अवस्था जाँच गर्ने

पुरानो साधन खरिद गर्दा त्यसको टायरको अवस्था अवश्य हेर्नुहोस्। टायर कति खिइएको छ, कम्पनी फिटेट टायर हो कि परिवर्तन गरिसकेको टायर हो राम्रोसँग हेर्नु पर्छ । टायरको माध्यमबाट गाडि गुडेको अनुमान समेत लगाउन सकिन्छ । यदि टायर धेरै खराब छ भने, टायरलाई तुरुन्तै बदल्नु पर्छ । प्रायः पुरानो साधनको टायरहरू काम नलाग्ने अवस्थामा पुगिसकेको हुन्छ । यसले छिटै जोखिम निम्त्याउने भएकाले टायरको अवस्था पनि जाँच गर्नु पर्छ ।

३. डेन्ट वा अन्य क्षतिको परीक्षण

सवारी साधन जति पुरानो हुँदै गयो त्यसको समस्या पनि बढ्दै जान्छ । त्यसैले खरिद गर्दा त्यसमा डेन्ट वा क्षति छ वा छैन निश्चित रूपमा जाँच गर्नुहोस् । यदि गाडि पहिला नै ठूलो दुर्घटनामा परेको हो भने कहीँ न कहीँ बनेट, डिकी वा ढोकाहरूका सिल बिग्रिएको वा पछि वेल्डिङ गरेको देखिन्छ । साधनको भित्रि भागहरूमा भएका डेन्ट र क्षतिहरूको जाँच गर्नाले पछि दुःख पाइँदैन ।

४. सर्भिसिङ बुक चेक गर्ने 

सेकेन्ड ह्याण्ड साधन खरिद गर्नु अघिनै निश्चित रूपमा सर्भिसिङ समयमै भएको छ वा छैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ। त्यसैले खरिद गर्नु अघि नै सर्भिसिङ बुक चेक गर्ने । यदि समयमै सर्भिसिङ गरेन भने इन्जिनमै समस्या हुन सक्छ ।  मुख्य गरी सवारीको इन्जिनको अवस्थाको बारे राम्रोसँग जाँच गर्नको लागि उचित समयमा सर्भिसिङ भएको रेकर्ड हुनुपर्छ ।

५. दर्ता जाँच गर्ने 

पुराना साधनको दर्ता चेकजाँच गरेर मात्रै खरिदको प्रक्रिया अघि बढाउनु पर्छ । यसले तपाईंलाई साधनकोको उत्पादन मिति र कहिले खरिद गरिएको थियो भन्ने कुरा थाहा दिनेछ। साथै कतिजनाको नाममा नामसारी भयो ब्लूबुकमा प्रष्ट लेखिएको हुन्छ ।  यसले सवारी कति पुरानो हो तथा कहा कहाँ चलेको भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।  धेरै  जनाले चढिसकेको पुराना भइसकेका साधनहरू खरिद गर्नु राम्रो हुँदैन ।

 ६. टेष्ट ड्राइभ गर्ने 

प्रयोग गरिसकेको सवारी साधन किन्नु अघि तपाईंले एकपटक यसको टेष्ट ड्राइभ गर्नैपर्छ । तपाईंले साधनलाई राजमार्ग, साँघुरो सडक, उकोलो ओरालो वा ट्राफिक धेरै भएको सडकमा ड्राइभ गरेर परीक्षण गर्न आवश्यक हुन्छ। टेष्ट ड्राइभमा तपाईंले यसको ब्रेक, क्लच र एक्सेलेटरले राम्ररी काम गरिरहेको छ वा छैन भनेर थाहा पाउनु हुन्छ। त्यस्तै, एक्सेलेरेशन, सस्पेन्सन, इन्जिनका साथै अन्य धेरै कुराका बारेमा पनि जानकारी पाउन टेष्ट ड्राइभ अपरिहार्य हुन्छ ।


Back_to_top