काठमाडौं । जर्मन कार मेकर अउडीले नयाँ डिजाइनको इलेक्ट्रीक कार देखाएको छ । विशेषगरी चिनियाँ ईभी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको अउडी ई-फाइभ स्पोट्सव्याक ल्याएको हो ।
यसको चर्चा विश्वभर भइरहेको छ । कम्पनीले बिलकुलै नयाँ लुकमा तयार पारेको कारमा अउडीको परम्परागत चारवटा रिङ भएको लोगो पनि छैन । ई-फाइभ स्पोट्सव्याक कारमा अंग्रेजी अक्षरमा अउडी लेखिएको छ ।
स्पोट्सव्याक बडी टाइपमा बनेको ई-फाइभ कार कम्पनीले चीनमा सवब्राण्डको रुपमा ल्याएको हो । यो कारमा एसएआईसीले विकास गरेको नयाँ प्लेटफर्म प्रयोग भएको छ ।
अउडी ई-फाइभको ड्यासबोर्डमा वारपार भएको २७ इन्चको डिस्प्ले स्कृन दिएको छ । फेसियल रिकग्नीसन टेक्नोलोजी सपोर्ट गर्ने उक्त सिस्टममा एप स्टोरबाट चाहिएको एप सजिलै डाउनलोड गर्न सकिन्छ ।
अउडीले इलेक्ट्रीक ई-फाइभमा २९५, ४०२, ५७० र ७७६ किलोवाटको चार इलेक्ट्रीक मोटर अप्सन दिएको छ । सबैभन्दा माथिल्लो भेरियन्टमा चार वटा मोटर दिएको छ । इन्ट्री भेरियन्ट भने सिंगल मोटरमा उपलब्ध हुनेछ । यो कार मात्र ३.४ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ ।
कम्पनीले यसमा १०० किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ७७० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरको छ । यसलाई केबल १० मिनेटको चार्जमा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
यसलाई सहरी क्षेत्र र हाइवे दुबैमा सहजै चलाउन सकिन्छ । पूर्ण अटोनोमस ड्राइभिङ सिस्टममा आउने कारमा रुफ माउण्टेड लाइडार बक्स, तीनवटा लङरेन्ज रडार र १२ वटा अल्ट्राशोनिक सेन्सर तथा क्यामराहरु छन् ।
अउडीले ई-फाइभ स्पोट्सव्याक बिक्री यसै वर्षको अन्त्यबाट सुरु गर्ने योजना बनाएको छ । चीनको लागि मात्रै बनाएको यो ईभी अन्य देशमा निर्यात हुनेछैन ।

