बैंकले कमर्शियल गाडीमा घटाए कर्जा लगानी, ९ महिनामै कार किन्न भने दिए पौने ६ अर्ब ऋण

काठमाडौं । चालु आर्थि वर्ष २०८१/८२ को ९ महिना (साउन-चैत)मा हायर पर्चेज कर्जा लगानी ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा कुल ५ अर्ब ९ करोड ६८ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा १ खर्ब २४ अर्ब १० करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा चैत मसान्त आइपुग्दा ४.१ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो दुई वर्ष लगातार घटेको हायर पर्चेज कर्जा लगानी चालु आवमा अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएसँगै बढेको हो । आर्थिक गतिविधिमा सुधार आउँदा चालु आवमा सवारी साधनको खरिद बिक्री बढेको छ । यससँगै हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो ।

पछिल्लो समय अटोमोबाइल क्षेत्र चलायमान बनेको छ । गत वर्षको तुलनामा सवारी आयात तथा बिक्री दुवै बढेको छ । चालु आवको ९ महिनामा मात्रै कुल ११ हजार बढी चारपाँग्रे सवारीसाधन भित्रिएका छन् । त्यस्तै, ८० हजार बढी युनिट दुईपाँग्रे सवारी साधन आयात भएको छ ।

राष्ट्र बैंकको कडाइका बाबजूद बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा लगानी बढाएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकहरूलाई ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको थियो । त्यस्तै, हालै हायर पर्चेज कम्पनीलाई पनि ६० प्रतिशतभन्दा ऋण दिन नपाउने व्यवस्था लागू गरेको थियो । यसका बाबजूद चालु आवमा बैंकहरूले साढे ५ अर्ब रुपैयाँ बढी नयाँ कर्जा प्रवाह गरेका हुन् ।

कमर्शियलमा घटाए, पर्सनलमा बढाए

बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कमर्शियल र निजी प्रयोजन (पर्सनल) सवारी किन्न ऋण दिन्छन् । जसमा चालु आवमा कमर्शियल सवारीमा कर्जा लगानी घटाएका छन् भने पर्सनलमा बढाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकका अनुसार चालु आवमा कमर्शियल भेहिलकमा बैंकहरूको कर्जा लगानी ६० करोड रुपैयाँले घटेको छ । जबकि यही अवधिमा पर्सनल भेहिकलमा ५ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् ।

गत असार मसान्तसम्म बैंकहरूले कमर्शियलमा ८७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेकोमा चैत मसान्त आइपुग्दा घटेर ८६ अर्ब ६५ करोड रुपैयाँमा आइपुगेको छ । त्यस्तै, पर्सनल भेहिकलमा असरसम्म ३६ अर्ब ८४ करोड रुपैयाँ लगानी भएकोमा चैतसम्म आइपुग्दा १५.५ प्रतिशतले बढेर ४२ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा कमर्शियलको तुलनामा पर्सनल भेहिकलको बिक्री ह्वात्तै बढेकाले ऋण लगानी पनि बढेको हो । साथै, विगतमा किस्तामा गाडी किनेकाहरूले ऋण तिरेको र नयाँ सवारी बिक्री खासै नबढेकाले कमर्शियलमा कर्जा लगानी घटेको बैंकरहरू बताउँछन् ।

यद्यपि, समग्रमा पर्सनल भेहिकलको तुलनामा कमर्शियलमा बैंकको लगानी दोब्बर धेरै छ । चैतसम्म पर्सनल भेहिकलमा साढे ४२ अर्ब लगानी गरेका छन् । जबकि सोही अवधिमा कमर्शियलमा सवा ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


Back_to_top