काठमाडौं । ‘जीप लाइफ’ नेपालमा पैसा खर्च गर्न सक्ने मानिसको लागि नौलो नारा होइन । एमएडब्लू लाइफले जीप ब्राण्डको प्रमोसनमा ‘जीप लाइफ’लाई निकै बढवा दिँदै आएको छ ।
अहिले भारतमा उत्पादन भएको कम्पासदेखि युरोप र अमेरिकामा उत्पादन भएको ग्राण्ड चेरोकीदेखि रुबीकनसम्मका मोडल एमएडब्लू लाइफले बिक्री गर्दै आएको छ । यस्तोमा नेपाल आउने जीपका मोडल संसारको कुनै पनि देशमा बनेको छ । र, नेपाली बजारको माग अनुसारको उत्पादन छ भने आउने छ ।
भारतीय बजारमा तत्कालै जीपले ईभी मोडल ल्याउनेमा शंका छ । तर, प्लगइन हाइब्रिड वा माइल्ड हाइब्रिड मोडल मध्ये कुनै एक मोडल भारतमा पनि उत्पादन सुरू हुने अनुमान गर्न सकिन्छ ।
जीपले आफ्नो चर्चित मोडल कम्पासको २०२५ भर्सन हाइब्रिड र ईभीमा पनि ल्याएको कारण चर्चा धेरै भएको हो । कम्पनीले ल्याएको प्लगइन हाइब्रिड मोडल नेपालको लागि अझ बढी उपयोगी हुन सक्नेछ ।
बाहिरी डिजाइन
अहिले नेपालमा बिक्री हुँदै आएको कम्पासको तुलनामा विल्कुलै नयाँ लुक्स यसमा देख्न सकिन्छ । पहिलेको तुलनामा नयाँ कम्पास थप बक्सी र हेर्दा नै बलियो लाग्छ ।जीपले आफ्नो आइकनिक सेभेन स्लेट ग्रिल नयाँ कम्पासमा पनि दिएको छ । तर, यो पहिलेको तुलनामा चिल्लो, स्लिक र बढी उज्यालो देखिन्छ । ठाडो पारेर दिइएको एलईडी डे टाइम रनिङ लाइट, आयताकारमा दिइएको एलईडी हेडलाइट र अगाडि बम्परमा दिइएको बाक्लो बडी क्लाडिङले गाडीलाई पृथक देखाएको छ ।
नयाँ कम्पासमा दिइएको २० इन्चको डुअल टोन अलोय ह्वील, पुल टाइप डोर ह्याण्डल, रुफरेल, पछाडिको टल लाइट र बम्परको कम्बिनेसन उत्कृष्ट छ ।
भित्री फिचर
नयाँ जेनेरेशन कम्पासको इन्टेरियर ब्ल्याक कलर थिममा छ । लेयर्ड ड्यासबोर्ड, ठाँउठाँउमा प्रयोग भएको सिल्भर फिनिसिङले उत्कृष्ट देख्न सकिन्छ ।
ड्यासबोर्डको बीचमा रहेको १६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, रोटरी डायल गियर नब, पानारोमिक सनरुफ, लेदर सिट पाउन सकिन्छ । एथेष्ट लेगरुम उपलब्ध कम्पास हाइब्रिड एडास लेभल दुई उपलब्ध मोडल हो ।
नयाँ जेनेरेशन कम्पासमा १०.१ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले, ड्युल जोन एसी, वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा, कनेक्ट कार टेक, ८ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, मेमोरी सिट, पावर टेलगेट दिइएको छ ।
इन्जिन
नेपाली बजारलाई उपयुक्त हुन्छ भनिएको प्लगइन हाइब्रिड मोडल हो । यसमा १.६ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनको अलवा २१ किलोवाट आवरको ब्याट्री पनि रहने छ । यसमा रहेको टर्बो इन्जिनले १९८ पीएस प्रदान गर्छ । यसको ब्याट्री मात्रैको रेन्ज १०५ किलोमिटर हो ।
ईभीमा पनि आउने
जीपले कम्पासको नयाँ जेनेरेशन मोडल ईभीमा पनि ल्याउने छ । कम्पनीले तीन अप्सनमा ईभी मोडल ल्याउने छ । दुई ब्याट्री अप्सनमा आउने कम्पासलाई ७३ किलोवाट आवरको ब्याट्रीमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम मात्रै दिनेछ । यसमा १६० किलोवाटको मोटर रहन्छ ।
ठूलो ९७ किलोवाट आवरको ब्याट्रीमा फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ मोडल उपलब्ध हुनेछ । सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज ५०० किलोमिटर र ठूलो ब्याट्रीको ६५० किलोमिटर रहने बताइएको छ ।