ओलाको दुई इलेक्ट्रीक मोटरसाइकल एक साथ बजारमा

काठमाडौं । ओलाले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको यही महिना भित्रै टेस्ट ड्राइभ सुरू गर्ने भएको छ ।

कम्पनीले २०२५ मे महिनाको २५ तारिकदेखि ओला रोडस्टार एक्स सिरिजको टेस्ट ड्राइभ सुरू गर्ने भएको हो । कम्पनीको पहिलो मोटरसाइकल ओलाको शोरुमहरु र एक्स्पिरियन्स सेन्टरहरुमा देखिन थालेका छन् ।

कम्पनीका अनुसार मोटरसाइकलको टेस्ट ड्राइभ लगतै डेलिभरि पनि सुरु हुने जनाएको छ । बजारमा लिगेसी कम्पनीहरूले दिएको कडा प्रतिस्पर्धामा कडा रूपमा उत्रिन ओलाले पहिलो पटक इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको रोडस्टार एक्स मोडलमा तीन भेरियन्ट र एक्स प्लस मोडलमा दुई भेरियन्ट समावेस छन् ।

ओला रोडस्टार एक्सको तीन भेरियन्ट अन्तर्गत २.५ किलोवाट आवर, ३.५ किलोवाट आवर र ४.५ किलोवाट आवरको ब्याट्रीप्याक अप्सनमा उपलब्ध हुनेछ । रोडस्टार एक्समा ७ किलोवाटको मिड माउन्टेड मोटर जडान गरिएको छ ।

रोडस्टार एक्स २.५ किलोवाट आवर भेरियन्टले एक पटकको फुलचार्जमा ११७ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा छ । यसको ३.५ किलोवाट भेरियन्टको टप स्पीड ११७ किलोमिटर प्रतिघण्टा हुनेछ ।

यसले एक पटकको फुलचार्जमा १५९ किलोमिटरसम्म रेन्ज दिनेछ । त्यस्तै, ४.५ किलोवाट भेरियन्टको रेन्ज २०० किलोमिटर र टप स्पीड १२४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले रोडस्टार प्लसमा भने ११ किलोवाटको मिड माउन्टेड मोटर जडान गरेको छ । यसमा ४.५ किलोवाट आवर र ९.१ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन पाइन्छ । ४.५ किलोवाट आवर भेरियन्टको रेन्ज २५२ किलोमिटर र ९.१ किलोवाट आवर भेरियन्टको रेन्ज ५०१ किलोमिटर छ । दुवै भेरियन्टको टप स्पीड भने १२५ किलोमिटर प्रतिघण्टा छ ।

यी दुवै मोडलमा ४.३ इन्चको कलरफुल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस कन्सोलमा ब्लुटूथ कनेक्टिभिटी डिटेल्स, टर्न बाइ टर्न नेभिगेसन र कल एसएमएस अलर्टसँगै अन्य डिटेल्सहरू देखिने छन् ।

स्मार्ट मोटरसाइकलको रूपमा बजारमा उतारिएको रोडस्टारमा रिमोट अन्लक सिस्टम, तीन राइडिङ मोड, चार्जर राख्नका लागि सानो बुट स्टोरेज स्पेस पाउन सकिन्छ ।

त्यसैगरि, क्रुज कन्ट्रोल, रिभर्स मोड, फ्रन्टमा डिस्क र रियरमा ड्रमब्रेकसँगै सिंगल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, टेलिस्कोपिक फोर्क र डबल रियर सक अब्जरर्बार सस्पेन्सन सेटअप मोटरसाइकलमा पाउन सकिन्छ ।

कम्पनीले अगष्ट २०२४ मा ओला रोडस्टार एक्स र रोडस्टार एक्स प्लस मोडलको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरे पस्चात् तीन पटकसम्म टेस्ट ड्राइभ डेलिभरी र बिक्री गर्ने समय तोकेपनि हुन सकेको थिएन ।

यसै कुरालाई मध्यनजर गर्दै कम्पनीले पहिलो चरणमा मोटरसाइकल खरिद गर्ने र बुकिङ गरेका ग्राहकहरुलाई मूल्य घटाएर डेलिभरि दिने भएको छ ।

कम्पनीले निर्धारण गरेको मूल्य अनुसार ओला रोडस्टार एक्स २.५ किलोवाट आवर भेरियन्टको मूल्य ७४ हजार ९९९ भारतीय रुपैयाँ, ३.५ किलोवाट आवर भेरियन्टको ८४ हजार ९९९ रुपैयाँ र ४.५ किलोवाट आवर भेरियन्टको ९४ हजार ९९९ भारतीय रुपैयाँ तोकेको छ ।

रोडस्टार एक्स प्लस ४.५ किलोवाट आवर भेरियन्टको १ लाख ४ हजार ९९९ रुपैयाँ र ९.१ किलोवाट आवर भेरियन्टको १ लाख ५४ हजार ९९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।


Back_to_top