अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेका छौं : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो व्यवसायी पेशाबाट पलायन हुने अवस्था आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रि-बजेट छलफल कार्यक्रमा बोल्दै उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

अटो व्यवसायमा सुधार आउनु पर्नेमा झन्झन् खस्किँदै गएर व्यवसायी समस्यामा परेको उनले बताए । समग्र अटो व्यापार खस्किँदा व्यवसायीलाई मात्र नभई सरकारलाई समेत घाटा पुगेको उनले बताए ।

‘अहिले सवारीसाधन बिक्री भनेको ईभीको मात्रै हो । अन्य सवारी बिक्री हुन छाडिसकेको छ’ उनले भने, ‘अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेका छौं । यहाँबाट माथि उठ्ने कि तल जाने भन्ने थाहा छैन ।’

अटो क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए । सवारी पार्टपूर्जाको अवैध चोरी पैठारी रोक्न सरकारले कडाइका साथ काम गर्नुपर्ने उनले भने ।

‘भन्सार नाकाम गृहमन्त्रालय र अर्थमन्त्रालय बीच समन्वय नहुँदा चोरी निकासी बढेको छ । सरकारले कडाइ गर्नु आवश्यक छ,’ उनले भने । अटो क्षेत्रले अर्थतन्त्रमा ९० अर्ब रुपैयाँ योगदान पुर्याएकोमा अहिले २० अर्बमा झरेको उनको भनाइ छ ।


Back_to_top