नेपाल आयो १० यूनिट ‘किया ईभी-९’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि किया मोटर्सको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले १० यूनिट किया ईभी-९ मोडल नेपाल ल्याएको छ । कम्पनीले सुरुको लटमा ल्याएको सबै यूनिट भन्सार जाँचपास हुन लागेको हो ।

कियाकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ अन्तर्राष्ट्रिय बजारमा भर्खरै बिक्री सुरु भएको छ । कम्पनीको पेट्रोल एसयूभी टेलुराइडकै साइजमा उपलब्ध एसयूभी टु ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ । नेपाली बजारमा टु ह्वील ड्राइभ मोडल आयात भएको हो ।

‘हामीले १० यूनिट ईभी-९ ल्याएका छौं । अहिले बिरगंज भन्सारमा आइपुगेको छ । आवश्यक प्रक्रिया पुरा गरेर चाँडै काठमाडौं ल्याउने तयारी गरेका छौं’, कन्टीनेन्टल स्रोतले भन्यो ।

कम्पनीले नयाँ एसयूभीको मूल्य निर्धारण भने गरेको छैन । यद्यपि, १ करोड ५० लाख रुपैयाँभन्दा केही बढी मूल्य पर्ने कम्पनी स्रोतको भनाइ छ । कोरियामा उत्पादन भएको ईभी-९ काठमडौं ल्याएपछि मात्रै बुकिङ खोल्ने कम्पनीको भनाइ छ ।

कम्पनीको ठूलो मध्येको एक एसयूभीको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।

किया ईभी-९ सात सिट र तीन रो भएको एसयूभी हो । नेपालमा पाइने फुल साइज एसयूभीहरुकै साइजमा रहेको मोडलमा ९९.८ किलोवाट आवर र ७६.१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । सम्भवत नेपाल आएको मोडलमा ७६.१ किलोवाट आवरको ब्याट्री रहने छ ।

अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो ईभीले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । जसको प्रयोगमा १० बाट ८० प्रतिशत चार्ज २४ मिनेटमा गर्न सकिन्छ ।


Back_to_top