मापसे गरी सवारी चलाउँदा दुर्घटना भएमा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छ ?

काठमाडौं । नेपालमा सवारी दुर्घटना हुने क्रम दिनप्रतिदिन बढ्दो छ । चालु आवमा मात्रै देशभर २० हजार बढी सवारी दुर्घटना भइसकेका छन् । ट्राफिक कडाइका बाबजूद तीव्र गति, मादक पद्धार्थ सेवन गरी गाडी चलाउनु, ट्राफिक नियम उल्लङ्घन, ओभरटेक, यान्त्रिक गडबडी, जीर्ण तथा कच्ची सडक लगायतले सवारी दुर्घटना बढिरहेका छन् ।

सवारीधनीले सम्भावित दुर्घटनाबाट हुने क्षतिको जोखिमवहनका लागि आफ्नो सवारीको बीमा गरेका हुन्छन् । अधिकांशले सवारी र चालक दुवैको फुल इन्स्योरेन्स गरेका हुन्छन् भने केही थर्डपार्टी मात्रै इन्स्योरेन्स गरेका हुन्छ । यदि दुर्घटना भइहालेमा बीमांक अनुसार नै बीमा कम्पनीहरूले सवारीसाधनमा पुगेको क्षति र घाइतेको उपचार खर्च व्यहोर्छन् ।

तर, पछिल्लो समय सामाजिक सञ्जालहरूमा सवारी दुर्घटना हुँदा बीमा दाबी भुक्तानी नपाइएको गुनासो देखिन्छ । दुर्घटनाग्रस्त सवारीसाधनको बीमा गरिएको भए पनि बीमा कम्पनीहरूले क्षतीको दाबी भुक्तानी नदिएको उनीहरूको गुनासो छ ।

तर, यसरी गुनासो गर्नेहरूमा नियम कानुन उल्लंघन गरी सवारी चलाई दुर्घटना गराउनेहरू रहेको पाइन्छ । नियमपूर्वक सवारी चलाउँदा दुर्घटना भएमा बीमा शर्त अनुसार कम्पनीहरूले दाबी भुक्तानी दिने गरेका छन् । तर, मादक पद्धार्थ सेवन गरी, आपराधिक गतिविधिमा संलग्न हुँदा सवारी दुर्घटना भएमा भने दाबी भुक्तानी नदिइने कानुनी व्यवस्था छ ।

जानाजानी नियम उल्लंघन गरेर सवारी चलाई दुर्घटना गराउनेहरूले नै सामाजिक सञ्जालमा दाबी भुक्तानी नपाएको भ्रामक प्रचार गरेको पाइन्छ । उनीहरूले उल्टो बीमा कम्पनीहरूको बदनाम गरिरहेका छन् ।

कानुनले तोक बमोजिम शर्तहरूमा बीमा दाबी भुक्तानी गरिरहेको बीमा कम्पनीहरू बताउँछन् । तर, जस्तो सुकै अवस्थामा पनि बीमा लागू नहुने र दाबी भुक्तानी नपाउने बीमकहरूको भनाइ छ ।

सानिमा जीआइसी इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर राजु पौडेलले सवारीसाधनको बीमा गरेको भए पनि जुनसुकै अवस्थामा दाबी भुक्तानी नपाउने बताउँछन् ।

‘हामीले सवारीको बीमा गर्दैमा दाबी भुक्तानी पाउँछौ भन्ने हुँदैन । सवारीधनीले पनि बुझ्नुपर्छ । कुन अवस्थामा दुर्घटना भएको हो । के भएको हो बुझेर मात्रै कानुन अनुसार दाबी भुक्तानी दिने गर्छौं,’ उनले भने ।

बीमितले मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाएर दुर्घटनामा परेको छ भने बीमा दाबी भुक्तानी नपाउने उनले बताए । ‘मापसे वा लापसे गरी जानजान सवारी दुर्घटना गराए त्यस्तोमा बीमा लागू हुँदैन । बीमा दाबी भुक्तानी मार्गदर्शनले नै भुक्तानी नगर्नु भनेको छ,’ उनले भने, ‘मापसे गरी दुर्घटना भएमा सम्पूर्ण क्षति चालकले नै व्यहोर्नुपर्छ ।’

मापसे गरी सवारी चलाएर दुर्घटना गराउनेहरूले नै भुक्तानी नपाएको अफवाह फैलाउने गरेको उनको भनाइ छ । बीमालेख अवधि भित्र दुर्घटना घटेमा र त्यस्तो दुर्घटना सम्बन्धी जोखिमको रक्षवरण बीमालेखले गरेमा मात्र त्यसको दाबी भुक्तानी हुने गर्दछ ।

कुन अवस्थामा क्षतिपूर्ति पाइन्छ ? कुनमा पाइँदैन ?

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६’ अनुसार विभिन्न अवस्थामा निजी सवारी साधनमा क्षति पुगेमा बीमा दाबी भुक्तानी पाइन्छ ।

आगलागी, चट्या·, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन, भूकम्प, बाढी/डुवान, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिउँ वा तुषारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरू, सवारी साधनको प्रयोगबाट भएको ह्रासको परिणाम स्वरूप वा यान्त्रिक वा विद्युतीय अवरोध/असफलता/टुटफुटको कारणले सवारी साधन दुर्घटना भई भएको क्षति/हानी-नोक्सानी, चोरी, सेंधमारी वा नकवजनी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसारपसार गर्दा सवारीसाधनमा क्षतिपूर्ति पाइन्छ ।

तर, सवारी साधनको प्रयोगबाट भएको ह्रासकट्टी, यान्त्रिक वा विद्युतीय अवरोध/असफलता/टुटफुट, सवारी साधन दुर्घटना नभएको अवस्थामा भएको टायर/ट्युबको क्षति, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको कारणले भएको क्षति/हानीनोक्सानी, सवारी साधनप्रति बीमितको हक हित परिवर्तन वा समाप्त भएको पैंतीस (३५) दिन पछि भएको क्षति/हानीनोक्सानीको क्षतिपूर्ति नपाइने मार्गदर्शनमा उल्लेख छ ।


Back_to_top