हुन्डाई क्यास्पर नाम भारतमा दर्ता, इलेक्ट्रीक भर्सन आउने

काठमाडौं । हुन्डाईले तीन वर्ष अघि कोरियामा उत्पादन र बिक्री थालेको क्यास्पर माइक्रो एसयूभीको ट्रेडमार्क भारतमा पनि दर्ता गरेको छ । भारतीय बजारमा ट्रेडमार्क दर्तासँगै भारतमा पनि क्यासपरको उत्पादन बिक्री हुने अनुमान गर्न सकिन्छ ।

तर, अहिले आफ्ना मोडलको नामलाई सुरक्षीत राख्न अधिकांश ब्राण्डहरुले गाडी बिक्री सुरु नगरेका देशमा पनि ट्रेडमार्क दर्ता गर्ने गरेको पाइन्छ । हुन्डाईले भारतमा उत्पादन गर्न वा नाम मात्रै सुरक्षीत राख्न ट्रेडमार्क दर्ता गरेको हो अहिल्यै एकिन भएको छैन ।

हुन्डाई क्यास्पर एक तीन ढोका भएको माइक्रो क्रसओभर मोडल हो । यसको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ । यसमा २४०० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।

भारतीय बजारमा हुन्डाईले सेन्ट्रो कार उत्पादन बन्द गरेको कारण त्यसैको स्थानमा क्यास्पर ल्याउन लागेको हल्ला पनि चलिरहेको छ । तर, कम्पनीले किन र कुन प्रयोजनको लागि ट्रेडमार्क दर्ता गरेको हो भन्ने विषयमा आधिकारीक जानकारी दिएको छैन ।

कोरियामा मात्रै उत्पादन हुँदै आएको क्यास्पर मोडल चाँडै विद्युतीय भर्सनमा पनि ल्याउन लागेको बताइन्छ । यसको इलेक्ट्रीक मोडल कोरियामा परिक्षण चलिरहेको केही समय अगाडि समाचारहरु आएका थिए । सम्भवत इलेक्ट्रीक मोडल भारतमा बिक्री गर्ने कम्पनीको रणनीति हुनसक्छ ।


Back_to_top