कार आयात गर्न दिने नयाँ मापदण्ड बनाऊ

काठमाडौं । सवारीसाधनको नाममा जे पनि आयात गर्न छुट भएको देशमध्येमा पर्छ नेपाल । यहाँ आफ्नै उत्पादन छैन, अन्य देशमा उत्पादन भएका जस्तोसुकै उत्पादन पनि सजिलै नेपाल ल्याएर बिक्री वितरण गर्न पाइन्छ ।

सरकारसँग कुनै साधनको गुणस्तर परीक्षण गर्ने उपकरण छैन । यतिसम्म कि अहिलेसम्म एउटा मोटर पावर परीक्षण गर्ने यन्त्रसम्म ल्याउन सकेको छैन । यसले हाम्रो हालत प्रष्टै देखाउँछ ।

पेट्रोलियम पदार्थको गुणस्तर एकिन गर्न नसक्ने सरकारले गाडीको गुणस्तार जाँच्ने अपेक्षा र अनुमान गर्नु आफैँमा मजाकिलो विषय हो । किन भने सरकारले सवारीसाधनको गुणस्तर र त्यसको अवस्था एकिन गर्न सक्ने भए वार्षिक हजारौंले सडक दुर्घटनाबाट ज्यान नै गुमाउने थिएनन् ।

अहिले एउटा सुविधा सम्पन्न सवारीसाधन परीक्षण केन्द्र निर्माण गर्न ४० देखि ५० करोड खर्च गर्दा पुग्छ । तर, यसलाई बनाउनु पर्छ भन्ने विषयमा राजनीतिक नेतृत्वदेखि कर्मचारी संयन्त्रसम्म कहिल्यै एकमत भएको पाइन्न । वार्षिक हजारौं मानिसको जीवन बचाउन सकिने काममा त्यति थोरै रकम खर्च किन गरिँदैन, यसको उत्तर खोज्नु पर्ने अवस्था आएको छ ।

वार्षिक १० देखि १५ हजार युनिट कार बिक्री हुने देशमा ४० भन्दा धेरै ब्राण्डका कार उपलब्ध हुन थालेका छन् । उनीहरूले ल्याउने कारको गुणस्तर, उनीहरूले तयार पारेको सेल्स, सर्भिस र स्पेयर पार्टस्को उपलब्धतासँगै कम्पनीले दिने वारेन्टीमा पनि बिक्रेतालाई कडाई गर्नु आवश्यक छ ।

त्यसैले निश्चित मापदण्ड निर्माण गरेर आयात गर्न दिनुपर्ने अवस्था आइसकेको छ । जसले मानव जीवनको सुरक्षा र हाम्रो रकम दुवै बचत हुनेछ ।

नयाँ ब्राण्ड वा मोडल आउँदा नै कडाई गर्न सकिए गुणस्तरमा केही हदसम्म कमसल उत्पादन आउन रोकिन्छ । त्यसको लागि निम्नअनुसारको काम हुन जरुरी छ ।

  • अन्तर्राष्ट्रिय बजारमा एक लाख युनिट कार बिक्री गर्न नसकेको र उत्पादक देश बाहिर बिक्री सुरू नभएको ब्राण्ड यहाँ ल्याउन रोक लगाऔं ।
  • नेपाल ल्याउने गाडी ब्राण्ड कस्तो हुनुपर्छ भन्ने मापदण्ड तोकौं । कुनै पनि उत्पादकले अन्तर्राष्ट्रिय बजारमा ३० हजार युनिटभन्दा कम बिक्री गरेको मोडल जुनसुकै ब्राण्डको भए पनि नेपाल आयात गर्न नदिऔं ।
  • वारेन्टीको नाममा आयातकर्ताले उपभोक्ता झुक्याउने गरेका छन् । तोकिएको वारेन्टी अवधिको सम्पूर्ण जिम्मेवारी आयातकर्ताले उठाउनु पर्ने कानुनी व्यवस्था गरौं ।
  • यातायात कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन सकिए मात्रै गाडीको वास्तविक परीक्षण गर्न सकिन्छ । त्यसैले सबै प्रदेशमा सवारी परीक्षण केन्द्र निर्माण गरौं ।
  • हरेक नयाँ गाडीको इन्जिन र मोटर क्षमता तथा सुरक्षा फिचर परीक्षण गर्न सक्ने सुविधा सम्पन्न ल्याव निर्माण गरौं । यति काम गर्न सकेको खण्डमा गुणस्तरीय साधन मात्रै नेपाल प्रवेश गर्नेछन् ।

 


Back_to_top