काठमाडौं । भारतीय स्कुटर बजार लामो समयदेखि दैनिक प्रयोगका लागि बनाइएका १०० देखि १२५ सीसी क्षमताका साधारण स्कुटरहरूमा केन्द्रित हुँदै आइरहेको छ ।
तर, पछिल्ला केही वर्षयता उपभोक्ताको रुचि परिवर्तन हुँदै जाँदा निर्माता कम्पनीहरूले पनि नयाँ सेग्मेन्टमा ध्यान दिन थालेका छन् । विशेषगरी म्याक्सी स्कुटर र एड्भेन्चर स्कुटरको माग बढ्न थालेपछि केही ठूला ब्राण्डहरू यस सेग्मेन्टमा प्रवेश गरिसकेका छन् । अन्य केही प्रवेशको तयारीमा छन् ।
हाल भारतीय बजारमा यामाहा एरोक्स १५५ र हिरो जुम १६० जस्ता केही सीमित विकल्प मात्र उपलब्ध छन् । तर आगामी एक–दुई वर्षभित्र बजारमा नयाँ मोडलहरूको आगमनसँगै प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ ।
भारतमा यस परिवर्तनको सबैभन्दा ठूलो संकेत टीभीएस, होण्डा र यामाहा कम्पनीका योजनाबाट आउने देखिन्छ । यी तीनै कम्पनीले १५० देखि १६० सीसी क्षमताका नयाँ म्याक्सी वा एड्भेन्चर स्कुटर प्लेटफर्म भारतमै निर्माण गरिरहेका छन् ।
टीभीएसले हालै सार्वजनिक गरेको एनटर्क १५० साधारण स्पोर्र्टी स्कुटरको अवधारणामा आधारित भए पनि कम्पनीले पूर्ण रूपमा नयाँ १६० सीसी म्याक्सी स्कुटर प्लेटफर्म विकास गरिरहेको छ ।
टीभीएसले नयाँ म्याक्सि स्कुटरको टायर सेक्सन, बडी डिजाइन, आधुनिक प्रविधि तथा इन्जिनको उच्च प्रदर्शनमा विशेष ध्यान दिएर स्कुटरमा काम गरिरहेको बताइएको छ । कम्पनीले यसलाई केवल भारतमा मात्र नभई युरोपसहित अन्य अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री गर्ने लक्ष्य राखेको छ ।
होण्डाले भने एड्भेन्चर १६० स्कुटर मार्फत एड्भेन्चर स्टाइल स्कुटर सेग्मेन्टमा प्रवेश गर्ने तयारी गरिरहेको छ । होण्डाको नयाँ एड्भेन्चर स्कुटरमा १५७ सीसीको लिक्विड कुल्ड इन्जिन छ । यसले अधिकतम १६ पीएस पावर उत्पादन गर्छ । यसमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स, २७ लिटर अन्डर सिट स्टोरेज, एड्जस्टेबल विन्डस्क्रीन, कीलेस इग्निसन तथा एलईडी लाइटिङ जस्ता सुविधा उपलब्ध छन् ।
अर्कोतर्फ यामाहाले एनम्याक्स १५५ म्याक्सि स्कुटरलाई भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । एनम्याक्समा एरोक्स १५५ सँग समान सिंगल सिलिण्डर, लिक्विड कुल्ड, भीभीए इन्जिन प्रयोग गरिएको छ । जुन यामाहाको आर १५, एमटी १५ र अन्य केही मोडलहरूमा पनि उपलब्ध छ । एरोक्सको तुलनामा एनम्याक्सलाई बढी आरामदायी र टुरिङ केन्द्रित म्याक्सी स्कुटरका रूपमा विकास गरिएको छ । यसमा २५ लिटर स्टोरेज, ४.२ इन्च टीएफटी डिस्प्ले, डुअल च्यानल एबीएस, कीलेस स्टार्ट तथा प्रिमियम सुविधाहरू समावेश छन् ।
यी तीनै मोडलहरूको विशेषता भनकोे परम्परागत स्कुटरभन्दा फरक उद्देश्यका लागि तयार गरिएका छन् । पहिले स्कुटर भनेको शहरभित्रको छोटो दूरीको यात्रा गर्ने साधनका रूपमा हेरिन्थ्यो । तर, अहिलेका म्याक्सी र एड्भेन्चर स्कुटरहरू लामो दूरी यात्रा, उच्च गतिमा स्थिरता, बढी आराम तथा थप स्टोरेज सुविधा प्रदान गर्ने उद्देश्यले विकास गरिएका छन् ।


