निजी सवारीसाधनमा जाने कर्जामा पुनः कडाई, ५० प्रतिशत डाउन पेइमेन्ट अनिर्वाय

काठमाडौं । सवारीसाधनमा बैंकहरुले लगानी गर्न पाउने यसअघिको कर्जा सिमालाई घटाएर ५० प्रतिशतमा झारेको छ । नेपाल राष्ट्र बैंकले आज एक सकुर्लर जारीगर्दै यसअघि ब्यवस्था गरिएको ६५ प्रतिशतको सिमामा रोकलगाएको हो । 

पछिल्लो समय सवारीसाधन आयात उच्च बढेको भन्दै राष्ट्र बैंकले सवारी कर्जाको सिमामा कडाई गरेको हो, अब बैंकले सवारीसाधनको मूल्यमा ५० प्रतिशत मात्रै कर्जा प्रबाह गर्न पाउने छन् । 

केही सयमअघि केन्द्रिय बैंकले सवारीसाधन आयातमा कडाई गर्ने विषयमा आन्तरिक छलफल गरेको र अहिले सकुर्लर मार्फत सवारीकर्जाको सिमा घटाएको हो । 

केन्द्रिय बैंकले सवारीसाधनमा कडाई गरेसँगै नाडाले सबै ब्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएको छ ।

‘तिहारको मुखमा केन्द्रिय बैंकले कर्जामा कडाई सर्कुलर आएको भन्ने सुनेका छौं अब सम्बन्धीत सबै निजी क्षेत्रका सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने छौं’ नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मेरोअटोसँग भने ।

‘हरेक वर्ष लगानी योग्य रकमको अभाव हुने गरेको छ । यसको स्थाई समाधान भेट्टाउन सरकार, केन्द्रिय बैंक वा अन्य सरोकारवाला निकायले नसक्ने तर, जहिलेपनि अटोमोवाइल सेक्टरमा लगानी गयो भन्दै अंकुस लगाउने काम भएको छ’ नाडाका निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठले मेरोअटोसँग भने  । 

श्रेष्ठ भन्छन् ‘अहिलेपनि राज्यको ढुकुटीमा २५० अर्ब रुपैयाँ थन्केर बसेको छ तर, बजारमा लगानी योग्य रकमको अभाव भइरहेको छ । आर्थिक विकासको लागि चाहिने स्रोत नै व्यवस्थापन हुन सकेको छैन ।’

‘सरकारले लगानी योग्य वातावरण र स्थीर नीति नियमको कुरा गर्छ तर, हरेक ६ महिनामा यसरी अस्थिर निर्णयगर्दा अन्य क्षेत्रमापनि यसको नकारात्मक असर पर्छ । त्यसैले यस्तो नीति तत्काल सच्याउनु उपयूक्त हुन्छ’ श्रेष्ठले भने ।

सरकारले यसअघि पनि निजी सवारीसाधनमा जाने कर्जामा कडाई गर्दै ५० प्रतिशतमा झारेको थियो भने गत मौद्रिक नीतिमार्फत ६५ प्रतिशत बनाएको थियो । अहिले पुनः ५० प्रतिशतमा झारेको हो ।  


Back_to_top