अटोमोवाइल्सको लागि निरस दशैंः कतै ग्राहक भएनन्, कतै गाडी छैनन्

काठमाडौं । करिब १० महिनादेखि चल्दै आएको लगानी योग्य रकमको अभावको प्रत्येक्ष असर उद्योगदेखि व्यापारसम्म परेको छ । दशैंको सिजनमा झण्डै ५ देखि ६ हजार यूनिट कार विक्री हुने बजार यस वर्ष सुनसान प्रायः छ ।

यसवर्षको दशैंमा कति गाडी विक्री भए भन्ने तथ्यांक बाहिर आएको छैन । तर, जुन किसिमको शोरुमहरुमा फुटफल थियो, त्यसले मुस्किलले १ हजार ५ सय यूनिट कार पनि विक्री नभएको व्यवसायीहरुको भनाई छ ।

‘नवरथाबाट शोरुममा गाडी किन्ने, बुकिङ गर्ने र डिलिभरी लिनेको लामै लाम हुन्थ्यो । तर, यसपटक गाडी सोधपुछ गर्ने मानिस पनि शोरुममा आएनन्’, थापाथलीमा रहेका अधिकांश शोरुम संचालकको एउटै भनाई थियो ।

कम्बस्चन इन्जिन भएका गाडीमा धेरै ठूलो क्रेज नरहेपनि विद्युतीय गाडी किन्नेहरु भने बढेका छन् । विद्युतीय गाडीमा सप्लाई नभएका कारण किन्ने मानिस बढेको देखिएको धेरै विक्रेताहरुको भनाई छ ।

‘गाडी सप्लाईमा समस्या छ, ५/६ महिना अघि बुकिङ गरेका ग्राहकले गाडी पाउन सकेका छैनन् । अनि कसरी विक्री छ भन्ने मान्नु’, एमजीको आधिकारीक विक्रेता पारामाउन्ट स्रोतले भन्यो ।

सरकारले ईभीको करमा दिएको छुट र विद्युतीय साधन प्रति ग्राहक विश्वास बढ्दा बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । तर, अहिले टाटा बाहेक अन्य कुनै पनि ब्राण्डले मागको अनुपातमा निकै कम मात्रै ईभी आयात गर्न सकेका छैनन् ।

टाटापछि हुन्डाईले केही संख्यामा ईभी आयात गर्दै आएको भएपनि पछिल्ला ६ महिनादेखि एमजी, एक वर्षदेखि किया र विगत दुई महिनादेखि बीवाइडीका गाडी आयात हुन सकेका छैनन् ।

सरकारले बैशाख १४ गतेदेखि पूर्ण आयात प्रतिबन्ध लगाएको भएपनि चैत २१ गतेपछि कुनै पनि बैंकले गाडीको लागि एलसी खोलेका छैनन् । त्यसैले पनि गाडी आयात लगभग छैन ।

‘विगत ७ महिनादेखि गाडीको लागि एलसी नखुल्दा बजारमा गाडी पाउने अवस्था हुने कुरै भएन । ग्राहकले पनि बजारमा पुरा मात्रै गाडी छन् भन्ने सोच्न थालेका छन्’, जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले भने ।

तरलता अभावको प्रभावकै कारण शोरुमहरु सुनसान बनेका छन् । त्यसले समग्र अटोमोवाइलको व्यापारमा नकारात्मक असर परेको हो ।


Back_to_top