काठमाडौं । बागमती प्रदेश सरकारले साना विद्युतीय सवारीको प्रयोगलाई निरुत्साहन गर्दै वार्षिक सवारी कर बढाएको छ ।
प्रदेश सरकारले आर्थिक विधेयक २०८३ मार्फत ५० किलोवाटसम्म मोटर क्षमता भएका चारपाँग्रे विद्युतीय सवारी (कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक)को वार्षिक कर बढाएको हो ।
प्रदेशले चारपाँग्रे विद्युतीय सवारी निजीको सवारी कर १ हजार ५०० र भाडाका सवारीको १ हजार रुपैयाँ बढाएको हो ।
आर्थिक विधेयक अनुसार अब साउनदेखि बागमतीमा दर्ता भएका ५० किलोवाटसम्म मोटर भएका निजी विद्युतीय चारपाँग्रे सवारीले वार्षिक ६ हजार ५०० रुपैयाँ कर तिर्नुपर्नेछ । हाल ५० किलोवाटसम्मका निजी विद्युतीय कारले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्छ ।
प्रदेश सरकारले ५० किलोवाट माथिका मोटर भएका निजी विद्युतीय सवारीको वार्षिक करको दर भने यथावत राखेको छ । ५० किलोवाटभन्दा माथि १२५ किलोवाटसम्मले वार्षिक १५ हजार, १२५ किलोवाटभन्दा माथि २०० किलोवाटसम्म २० हजार र २०० किलोवाट माथिले वार्षिक ३० हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।
त्यस्तै, प्रदेश सरकारले भाडामा विद्युतीय सवारीको वार्षिक कर १ हजार रुपैयाँ बढाएको छ । हाल प्रदेशमा दर्ता भएका २० किलोवाटदेखि ५० किलोवाटसम्म मोटर भएका चारपाँग्रे भाडाका सवारीले ३ हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षदेखि ती सवारीले ४ हजार रुपैयाँ सवारी कर तिर्नुपर्नेछ ।
प्रदेश सरकारले भाडाको सवारीको हकमा पनि ५० किलोवाटभन्दा माथिकाको करको दर यथावत राखेको छ । भाडाका ईभी ५० किलोवाटभन्दा माथि १२५ किलोवाटसम्मले ५ हजार, १२५ किलोवाटभन्दा माथि २०० किलोवाटसम्म १० हजार र २०० किलोवाट माथिले वार्षिक १५ हजार रुपैयाँ कर तिर्नुपर्छ ।


