बजाजले किन्यो अर्को ब्रिटिस ब्राण्ड

काठमाडौं । भारतीय अटो ब्राण्ड बजाजले अर्को नयाँ ब्रिटिस मोटरसाइकल ब्राण्डको स्वामित्व खरिद गरेको छ । कम्पनीले ब्रिटिश ब्राण्ड भिनसेन्टको स्वामित्व खरिद गरेको हो ।

भिनसेन्ट ब्राण्ड यसअघि डेभ होल्डर तथा उनको परिवारको स्वामित्वमा रहेको थियो । भिनसेन्ट कम्पनीको संस्थापक फिलिप भिनसेन्ट हुन् । उनले सन १९४८ मा भिनसेन्ट ब्राण्डबाट मोटरसाइकल उत्पादन थालेका थिए ।

त्यो समयमा भिनसेन्टले उत्पादन गरेको संसारकै सबैभन्दा छिटो कुद्ने मोटरसाइकल ‘ब्ल्याक स्याडो’ निकै चर्चामा थियो । ब्ल्याक स्याडो प्रतिघन्टा २४१.९ किलोमिटरको रफ्तारमा कुद्न सक्ने मोटरसाइकल हो ।

भिनसेन्ट ब्ल्याक लाइटनिङले सन् २०१८ मा सबैभन्दा धेरै मूल्यको रेकर्डसमेत राखेको थियो । यसलाई ६ करोड रुपैयाँमा विक्री गरिएको थियो । कम्पनीले ब्ल्याक लाइटनिङको ३१ यूनिट मात्र उत्पादन गरेका थियो । यो मोटरसाइकल संसारकै दुर्लभ मोटरसाइकलको रुपमा लिइन्छ ।

बजाज भिनसेन्ट मोटरसाइकल

बजाजले हालसम्म भिनसेन्ट मोटरसाइकलको प्लान बाहिर ल्याएको छैन । कम्पनीले भिनसेन्ट ब्राण्डमा क्लासीक मोटरसाइकल नै उत्पादन गर्ने अनुमान गरिएको छ । भिनसेन्टका रेट्रो क्रुजर मोटरसाइकलले रोयल इनफिल्डका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्छन् ।

बजाजले भिनसेन्ट ब्राण्डलाई नै पुनः बजारमा ल्याउने अनुमान धेरैले गरेका छन् । यसअघि बजाजले अन्य दुई कम्पनी केटीएम तथा ट्राइम्फसँगको सहकार्यमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । साथै, एकल स्वामित्व भएको भिनसेन्ट ब्राण्डलाई नै रिभाइभ गर्ने अनुमान गरिएको छ ।


Back_to_top