काठमाडौं । भारत सरकारले लगाउने गुड्स एण्ड सर्भिसेज ट्याक्स (जीएसटी) ठूला इन्जिन क्षमताका मोटरसाइकलमा धेरै लाग्ने भएसँगै कम्पनीहरूले धमाधम साना इन्जिन दिन थालेका हुन् ।
जीएसटी प्रभावका कारण भारतमा ४०० सीसी सेग्मेन्टका मोटरसाइकलहरु अब ३५० सीसीमा ल्याउने क्रम बढ्दो छ । सुरूमा ट्रायम्फले आफ्नो ४०० सीसी क्षमताको मोटरसाइकललाई ३५० सीसीमा ल्याएको थियो ।
बजाजले पनि आफ्नो चर्चित मोटरसाइकल डोमिनार ४०० लाई ३५० सीसी इन्जिनमा ल्याएको छ । बजाज डोमिनार यसअघि ३७३ सीसी इन्जिनमा उपलब्ध थियो । कम्पनीले अब ३५० सीसी क्षमताको इन्जिनमा ल्याएको हो ।
भारतमा ३५० सीसीभन्दा माथिका मोटरसाइकलमा ४० प्रतिशत जीएसटी लाग्न थालेको छ । तर, ३५० सीसी भित्रका मोटरसाइकलमा १८ प्रतिशत मात्रै जीएसटी लाग्छ । त्यसैले २२ प्रतिशत कम कर लाग्ने भएको कारण कम्पनीहरूले इन्जिन क्षमता घटाएका हुन् ।

बजाजले नयाँ इन्जिन भएको डोमिनार ३५० को मूल्य पनि पहिलेभन्दा ४० हजार भारतीय रुपैयाँले घटाएको छ । रेगुलर मोडल डोमिनार ४०० को मूल्य २ लाख ४० हजार भारतीयस रुपैयाँ एक्स सोरुम मूल्य रहेको थियो । नयाँ डोमिनार ३५० को मूल्य २ लाख भारतीय रुपैयाँ तोकिएको हो ।

