काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले निर्माण गरेको आफ्नो पहिलो सीएनजी मोटरसाइकल आउदो जुलाई महिनाको ५ तारिखमा सार्बजनिक गर्ने भएको छ ।
१६ दिनपछि बजारमा आउने बजाजको सिएनजी मोटरसाइकल विश्वकै पहिलो सिएनजी मोडल हो । उक्त मोटरसाइकल आगामी महिना सार्वजनिक गर्ने कम्पनीका सिइओ तथा निर्देशक राजिब बजाजले जानकारी दिए ।
बजाजको औरंगाबाद प्लान्टमा उत्पादन भएको सिएनजी मोटरसाइकल पेट्रोल मोटरसाइकलको तुलनामा ज्यादा माइलेज दिने बताइएको छ । यो सिएनजी मोटरसाइकलले १ केजी सिएनजीको प्रयोगले १०० किलोमिटरसम्म माइलेज दिने कम्पनीको भनाइ छ ।
भारतमा सिएनजी पेट्रोलको तुलनामा सस्तो छ । एक केजी सिएनजी १ लिटर पेट्रोल भन्दा २० रुपैयाँभन्दा धेरैले सस्तो छ ।
कम्पनीले यो मोटरसाइकल सिएनजीका साथै पेट्रोलबाट समेत चलाउन सकिने गरी डिजाइन गरिएको बताएको छ ।
यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन हुने अनुमान गरिएको छ । जसले अधिकतम ८.६ पीएस पावर र ९.८१ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइने बताइएको छ ।
बजाजको सीएनजी मोटरसाइकलमा बायोफ्युल सेटअपका साथै पेट्रोलबाट सीएनजीमा परिवर्तन गर्नका लागि स्वीच दिइने छ । यसले मोटरसाइकलमा फ्युल परिवर्तन गर्न निकै सहज हुने देखिन्छ ।
यस मोटरसाइकलमा पेट्रोल ट्याकंको मुनिपट्टी अथवा सीट मुनिको भागमा सीएनजी ट्याकं सेटअप दिइएको अनुमान गरिएको छ ।
यो मोटरसाइकलमा ट्युबलेस टायर, १७ इन्चको ह्वील, फ्रन्टमा डिस्कब्रेक र रियरमा ड्रमब्रेक, सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक हुनेछ ।
यसको मूल्यको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।


