काठमाडौं । सन् २०१० बाट नेपाली बजारमा विद्युतीय कार उपलब्ध गराएको अग्नी इनकर्पोरेट प्रालिले सन् २०२१ पछि विद्युतीय कार बिक्री गर्न पाएको थिएन । अबभने कम्पनीले इलेक्ट्रीक एसयूभी बिक्री सुरू गर्ने भएको हो ।
महिन्द्रा एक्सयूभी ४०० मोडल अघिल्लो महिना नै नेपाली बजारमा प्रबेश गरेको हो । कम्पनीले अहिले आन्तरिक परीक्षण गरिरहेको जनाएको छ । सबै काम सकेर असार तेस्रो साताबाट बिक्री सुरु गर्ने तयारीमा कम्पनी देखिन्छ ।
‘करिब ८ हजार किलोमिटर टेष्टिङ पुरा भएको छ । थप दुई हजार किलोमिटर टेष्ट गरेपछि बजारमा ल्याउने योजनासहित काम गरिरहेका छौं । यहि साताको अन्तिमसम्ममा १० हजार किलोमिटर परीक्षण पुरा हुन्छ । त्यसपछि केही सुधार गर्नु पर्ने देखियो भने सुधार गरेर बिक्री सुरु गर्छौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
भारतीय ब्राण्ड महिन्द्राले उत्पादन गरेको एक्सयूभी ४०० को ईएल भेरियन्ट नेपाल आएको छ । यसमा ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । साथै, ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध एसयूभीले एआरएआईका अनुसार ४५६ किलोमिटरको रेन्ज दिनेछ ।
महिन्द्राले एक्सयूभी ४०० लाई फिचर लोडेड बनाउन अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट जस्ता फिचर दिएको छ ।
यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचर छन् ।
एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड रहेको छ ।
अग्नी इनकर्पोरेट प्रालिले बजेट अगाडि यसको अधिकतम खुद्रा मुल्य ५२ लाख ५० हजार रुपैयाँ तोकेको थियो । अब यसको बजेट कति परिवर्तन हुन्छ, त्यो हेर्न भने बाँकी नै छ ।


