काठमाडौं । बजाज अटोले ट्राइम्फ इन्डियाको सबै डिलर नेटवर्क संचालनको काम गर्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतामा बजाजले विक्री तथा मार्केटिङको सबै काम गर्ने भएको हो ।
यी दुई कम्पनी बीच केही वर्षअघि ट्राइम्फको मोटरसाइक बजाजको प्लान्टमा उत्पादन गर्ने तथा प्लेटर्फम सेयर गर्ने सम्झौतामा भएको थियो । त्यससँगै दोस्रो चरणमा ट्राइम्फको भारतीय नेटवर्क बजाजले संचालन गर्ने सम्झौता भएको हो ।
बजाज अटोले भारतीय बजारमा केटीएम, हर्सभर्ना र ट्राइम्फ जस्ता यूरोपियन ब्राण्डसँग सहकार्य गर्दै आएको छ ।
ट्राइम्फको डिलरशिप अब बजाज प्रोबाइकिङको हेड सुमित नारङले हेर्ने भएका छन् । यस्तै, ट्राइम्फका पूर्व प्रमुख सोयब फारुकलाई भने बजाज चेतक इलेक्ट्रीक मोबिलिटी डिभिजनमा सरुवा गरेको कम्पनीले बताएको छ ।
हाल भारतमा ट्राइम्फको १५ डिलरशिप संचालनमा रहेका छन् । दुई वर्षसम्ममा यसलाई विस्तार गरी १२० भन्दा बढी पुर्याउने योजना कम्पनीले बनाएको छ ।
योसँगै बजाज ट्राइम्फको पहिलो मोटरसाइकल समेत चाँडै बजारमा आउने अनुमान गरिएको छ । बजाजको पुने प्लान्ट नजिक बजाज ट्राइम्फ मोटरसाइकलको परीक्षण भइरहेको छ ।
बजाज र ट्राइम्फ बीचको साझेदारीमा २५० सीसी देखि ७०० सीसीसम्मका मोटरसाइकल बजाजको पुणेमा रहेको चाकन प्लान्टमा निर्माण भइरहेको छ । यहाँबाट अन्य देशमा समेत निर्यात हुनेछ ।
बजाज ट्राइम्फको सहकार्यमा आउने पहिलो मोटरसाइकल स्क्र्यामलर डिजाइनमा रहने बताइएको छ । यो मोटरसाइकल ३५० सीसी क्षमतामा हुनसक्ने र यसको मूल्य २ लाखदेखि ४ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

